बुटवल:= लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद निलम्बित हुनुभएको छ । जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिनुभएको हो ।
निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँहरु मध्ये एकजना बाहेकले मुख्यमन्त्री पोखरेलको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो ।

पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
सांसद पद गएसँगै चार सांसदको मन्त्री पद पनि गुमेको छ । मन्त्रीमा रहिरहन उहाँहरुले पुन सपथ लिनुपर्ने हुन्छ ।
सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद छ । यादव पक्षले चारैजनालाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेको थियो भने ठाकुर पक्षले त्यसको विरोध गर्दै आएको छ ।



















