आईपीएल क्रिकेट : कोलकाताविरुद्ध दिल्लीको फराकिलो जित।

एजेन्सी (खेलकुद):= इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेट सहितको जित निकालेको छ ।

अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन्। उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।

टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो । पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।

यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।