काठमाण्डौं:= यस अघि नै ६ महिना निलम्वन गरिएका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेतालालाई संसद पदबाट समेत हटाउने प्रधानमन्त्री ओलीले तयारी गरेका छन् ।
यसै प्रयोजनका लागि ओलीले आज ती नेताहरुलाई संघीय संसदको पदबाट किन नहटाउने भनी दुई दिन भित्र स्पष्टीकरण दिन पत्र लेखेका छन् । पार्टीविपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारवाही गर्न सकिने चेतावनी पनि दिइएको छ।
माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको हो। ओलीले हिजो आफ्नो समुहको केन्द्रीय समितिको बैठक राखेर थप कदम चाल्ने सकेत दिएका थिए । एमाले भित्र बढ्दो विवादले पार्टी विभाजनतिर जान सक्ने संभावना थप देखा परेको नेताहरुले बताएका छन् ।
कर्णालीमा माधव नेपाल समुहका सांसदहरुले फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मुख्यमन्त्रीमा टिकाउन सहयोग गरेपछि ओली समुह माधव समुहसँग अझ चिढिएको छ। यो प्रकरण अन्य प्रदेशमा पनि र केन्द्रमा पनि देखा पर्न सक्ने संभावना रहेको बताईएका बेला प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई संसदबाट हटाउन खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो मात्रै सरकारले संसदको हिँउदे अधिवेशन समेत अन्त्य गरेको थियो ।





















