त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै।

काठमाडौं := नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्।

जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो भने मलेसियाले नेदरल्याण्ड्ससँग १५ रनको साँघुरो पराजय ब्यहोरेको थियो।

प्रतियोगितामा बलियो मानिएको नेदरल्याण्ड्सविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गरेको थियो। डेब्यु खेलमै ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले अर्धशतक बनाउँदा नेपाललाई लक्ष्य भेट्टाउन संघर्ष गर्नु परेको थिएन।

त्यस्तै हिजोको नेदरल्याण्ड्सँगको खेलमा कमजोर देखिएको मलेसियाको बलिङको अघि नेपालको ब्याटिङले समात्ने लयले खेलको नतिजा निर्धारण गर्ने देखिन्छ।

मलेसियाका लागि पछिल्ला ८ खेलमा १४ विकेट लिएका स्याज्रुल इड्रुस, १० खेलमा १३ विकेट लिएका पवनदीप सिंहलगायतउत्कृष्ट बलरहरु छन् भने ब्याटिङमा विरनदीप सिंह, अहमेद फैज लगायतका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै आएका छन्।

सिंहले पछिल्लो १० खेलमा ३४० रन बनाएका छन् भने फैजले ९ खेलमा २३४ रन बनाएका छन्। नेदरल्याण्ड्स विरुद्धको खेलमा कप्तान फैज डक आउट भए पनि सिंहले आक्रामक ब्याटिङ गर्दै ८७ रन बनाएका थिए। नेपालको बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी लगायतले नेदरल्याण्ड्स विरुद्ध राम्रो प्रदर्शन गरेका थिए।