काठमाडौं:= काठमाडौं उपत्यकाको फोहोर ६ दिनदेखि उठन सकेको छैन । नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो । सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका कारण फोहोर उठ्न नसकेको हो ।
काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरूपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरूले बताएका छन् ।
फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध गरेका छन् ।
सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरूलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्नेलगायत सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग स्थानियवासीको छ । सरकारसँग पटक–पटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।
काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा सिसडोलमा २०६२ भदौ २२ गतेदेखि फोहर व्यवस्थापन सुरु गरिएको हो । सुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि पनि अवरोध गर्दै आएका छन् ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० सय रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।
कामपा वातावरण विभागले अहिले साइटमा फोहोर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहोरलाई संकलन गर्ने गाडी आएपछि पठाउन कामपाले आग्रह गरेको छ ।




















