बागलुङको बडिगाड घटनामा संलग्न पाँच जना पक्राउ, मृतकको गरियो अन्येष्टि।

[ डम्मर बुढा मगर ] 

बागलुङ := बागलुङको बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको तीन दिनपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

होली खेल्ने क्रममा झडप हुँदा भीरबाट खसालेर दुईजनाको मृत्यु भएको थियो । झडपमा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइँको मृत्यु भएको थियो । मृतकहरूको शव घटनास्थलभन्दा करिब पाँच सय मिटर तल जंगलमा फेला परेको थियो ।

अनुसन्धानलाई अझै तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । ‘अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पक्राउ गरिएकाहरूको नाम सार्वजनिक गरेका छैनौं’ हवारीले भन्नुभयो, ‘थप तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने र पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी प्रहरीको छ ।’

यसैबीच, घटनामा ज्यान गुमाएका दुई जनाको शव पोष्टर्माटमपछि आफन्तले बुझेका छन् । पोष्टमार्टम भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवारले शव बुझ्न मानेका थिएनन् ।

बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् । शव बुझेपछि परम्परागत रूपमा उहाँहरूको अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरले बताउनुभयो । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको हो ।

उहाँहरूको पार्थिव शरीरमा नेपाली कांग्र्रेसको झण्डा ओढाएर कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुनुहुन्थ्यो भने दमार्इं सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो ।