काठमाडौं:= विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/ थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।
‘थरुहट थारुवान संघर्ष समितिको माग सम्बोधन गर्न ३ सदस्यीय वार्ता टोली गठन भएको छ,’ गुरुङले भने।
समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइको माग गरिरहेको छ। केही दिन अघि समितले चौधरीको रिहाइका लागि भन्दै आयोजना गरेको धर्ना कार्यक्रममा गृहमन्त्री थापा पुगेका थिए। थापाले सरकारले चौधरीको रिहाइका लागि पहल गर्ने बताएका थिए।
यता, सरकारलाई समर्थनका लागि जसपाले समेत रेशम चौधरीको रिहाइको माग्लाई बटमलाइन बनाएको छ।




















