कोरोना जोखिमबीच होलीमा भिडभाड, तराईमा आज मनाइँदै।

काठमाडौं := फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो ।

सरकारले भिडभाड गरेर होली मनाउन रोक लगाए पनि काठमाडौँको वसन्तपुरमा युवाहरू भेला भएर होली मनाएका छन् । राजधानीको वसन्तपुरमा सहभागी भएर हजारौं संख्यामा युवा–युवती, वृद्धवृद्धा र बालबालिकाले होली मनाएका हुन् । वसन्तपुरमा होलीको बेलामा अघिल्ला वर्षहरूमा हुने चहलपहलको तुलनामा यसपालि केही कम चहलपहल देखिएको थियो । होली लेखेको सेतो टिसर्टमा युवायुवती होलीको शुभकामना साटासाट गर्दै रङ दलिरहेका थिए । पर्यटकहरू होली खेलेर रमाइरहेका देखिन्थे ।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली सावधानीका साथ मनाउन अनुरोध गरेको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको थियो ।

तर, पनि काठमाडौंमा भने होलीको अवसरमा ठूलो संख्यामा मानिसहरूको भिडभाड देखिएको हो । विभिन्न ठाउँका होली कार्यक्रमहरूमा भौतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको थियो ।

यस्तै, कतिपय ठाउँमा भने घरपरिवारका सदस्यहरूबीच सानो समूहमा रहेर होली मनाइएको छ । रङहरूको पर्व होली तराईका जिल्लाहरूमा भने सोमबार (आज) मनाइँदै छ ।

एक हजार ६०९ सवारी चालकलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार साँझ ६ बजेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारबाहि गरेको जनाएको छ । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने एक हजार ६०९ सवारी चालकहरूलाई कारबाही गरी छाडेको बताएको छ । यस्तै होहल्लागरी सवारी चलाउने, जबरजस्ती रङ दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आइतबार दिनभरमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ । होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले हिमालय टाइम्सलाई बताउनुभयो ।

महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।