काठमाडौं := आइतबार काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्रमा होली पर्व मनाइएको छ । सरकारले कोरोनाको जोखिम अझै रहेकाले भिडभाड नगर्न आग्रह गरेसँगै कलाकारहरूले पनि घरमै रहेर होली मनाउनु भएको छ ।
यसैबीच सामाजिक सञ्जालमा नेपाली कलाकारहरूको तस्वीर नियाल्दा नायिका रेखा थापाले आफ्नो इन्स्टाग्राममा तस्वीर शेयर गर्नुभएको छ । उहाँले होलीको शुभकामना पनि दिनुभएको छ । यस्तै नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएको देखियो । प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गर्नुभएको छ ।
यस्तै अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्वीर हाल्दै होलीको शुभकामना दिनुभएको छ । उहाँले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गर्नुभएको छ।
यस्तै अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ । उहाँले रङसँग खेलेको आफ्नो तस्वीर शेयर गर्दै सबैमा होलीको शुभकामना साट्नु भएको छ । अभिनेत्री करिश्मा मान्नधरले ललितपुरस्थित आफ्नै घरमा नजिकका साथीहरू र परिवार सदस्यका साथ टीकामात्रै लगाएर होली मनाउनुभयो ।




















