एजेन्सी := म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको मृत्यु भएको छ। मन्डालय सहरकी ती बालिका गत महिना कूमार्फत सत्ता हत्याएको सेनाले गरेको दमनमा ज्यान गुमाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। उनलाई घरमै हुँदा गोली हानिएको परिवारले दाबी गरेका छन्।
स्थानीय सञ्चारमाध्यमले सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काख बसेकी छोरीलाई लागेको बताएका छन्। गोली लागेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो तर उनी बाँचिनन्।
उनका १९ वर्षीय दाजुलाई सुरक्षाकर्मीले पक्राउ गरेर लगेका छन्।
यसअघि फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनदिनै प्रदर्शन भइरहेका छन्। सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको बताएको छ।
सैनिकले अहिलेसम्म १६४ जनाको ज्यान गएको बताएको छ भने एसिस्टेन्स एसोसिएसन फर पोल्टिकल प्रिजनर्सले मृत्यु हुनेको संख्या २६१ पुगेको बताएको छ। सेनाले प्रदर्शनकारीको मृत्युमा दु:ख व्यक्त गरेको छ तर उनीहरूले देशमा अराजकता ल्याएको आरोप लगाएको छ।



















