भागरथी प्रकरण: अभियुक्त दिनेशले भने ‘बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ’

[ देवेन्द्र खड्का ] 

महेन्द्रनगर := बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टले आफूले अपराध नगरेको बताएका छन् ।

यसअघि आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकार गर्दै आएका दिनेशले अचानक बयान फेरेपछि भागरथी हत्या काण्डले नयाँ मोड लिएको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले शनिबार आफ्ना बुवासँगको भेटमा आफूले घटना नगराएको बताएका हुन्। आइतबार कञ्चनपुरको महेन्द्रनगर पुगेर अभियुक्त दिनेशका बुवा दीपकराज भट्टले पत्रकार सम्मेलन गर्दै दिनेशले आफूले घटना नघटाएको बताउनुभएको हो । ‘घटना घटेको १३÷१४ दिनसम्म अनुसन्धान हुँदै गर्दा मेरो छोराले मैले गरेको होइन भनिरहेको थियो । दिनेशसँगका साथीहरूलाई प्रहरीले छाडे तर दिनेशलाई फागुन ४ गते राति प्रहरीले आफूसँगै राखे । मैले मेरो छोरालाई किन राखेको ? भन्दै प्रहरीलाई भनँे, प्रहरीले आज राति भइसक्यो, भोलि बिहान पठाइदिन्छाँै भने, मैले राति भए म लिन आउँछु भन्दा पनि प्रहरीले मानेन । उसलाई त्यो रात त्यहीँ राखे ।’ दिनेशका बुवा दीपकराजले भन्नुभयो,

‘त्यसपछि मलाई थाहा नै नदिएर मेरो छोरालाई प्रहरीले जिल्ला लगेर गए । मैले जिल्ला प्रहरी कार्यालय बैतडीमा छोरालाई सोध्दा, उसले मैले मारेकोे हुँ, तर बलात्कार भने गरेको होइन भनेको थियो । त्यसको केही दिनपछि सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा छोराले मैले नै बलात्कार गरेर हत्या गरेको भन्यो । त्यसपछि मलाई पनि अचम्म लाग्यो ।’ हाल पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएका दिनेश भट्टले आफ्ना आफन्तसँग टेलिफोन सम्पर्क गरेर आफूले भागरथीको हत्या नगरेको हत्या दोगडाकेदार गाउँपालिक–७ का सरकारी कर्मचारी र उनीसँग रहेका एकजना अपरिचित व्यक्तिले गरेको बताएका छन् ।

‘दिनेशले शुक्रबार मेरो भाइलाई फोन गरेर हत्या वडा कार्यालयका कर्मचारी र उनीसँगै रहेका एकजना अर्का व्यक्तिले गरेको हो भनेपछि त्यो कुरा भाइले मलाई भन्यो ।’ दिनेशका बुवा दीपकराजले भन्नुभयो, ‘अनि म हिजो शनिबार दिनेशलाई भेट्न दिपायल गएको थिएँ। मेरो र त्यहाँ प्रहरीका अगाडि दिनेशले आफूले हत्या नगरेको हत्या र बलात्कार हाम्रो वडा कार्यालयको कर्मचारी र अर्को मान्छेलाई म चिन्दैन उनीहरूले गरेको मैले विद्यालयबाट घर फर्किंदा देखेको बताएको छ।

मैले पहिला किन भनिनस् ? भनेर सोध्दा उनीहरूलाई भागरथीलाई मारिरहेको मैले देखेपछि उनीहरूले मेरो घाँटीमा चक्कु राखेर कसैलाई यो घटनाको बारेमा भनिस् भने तेरो भाइ र तेरो बुवा र तलाई मारिदिन्छु भनेका थिए त्यही डरले मैले अपराध स्वीकारेको हुँ, दिनेशले मसँग भन्यो, ‘मैले अनि घटनास्थलमा भेटिएका घडी, मोबाइल, ब्याट्री यो ठाउँमा छन् भनेर कसरी थाहा भयो तलाई ? भनेर सोधँे, उसले ती सबै कुरा उनीहरूले मलाई त्यहाँ देखाएका थिए भन्यो ।

फेरि मैले अहिले किन भनिस् त ? भनेर सोध्दा ‘अहिले तपाईंहरू गाउँ छोडेर आइसक्नुभयो, त्यसैले मलाई भन्ने आँट आएको हो भन्यो ।’ अहिले अभियुक्त दिनेशका बुवा दीपकराज चडेपानी आफ्नो घर छाडेर आफ्ना परिवारसहित महेन्द्रनगर पुग्नुभएको छ। ‘छोरासँगैका उसका साथीहरू विद्यालय गएको, नजिकै भागरथीको घर, उनकी आमाको आँसु देख्न नसकेर र छोराले यो कुरा सुनाएपछि म गाउँ छोडेर आउन बाध्य भएँ ।’ दीपकराजले भन्नुभयो, ‘मेरो र मेरा परिवारको सुरक्षा सरकारले लिएपछि म मेरो छोराले भनेको सरकारी कर्मचारीको नाम पनि सार्वजनिक गर्न सक्छु ।

मेरो छोरालाई डर धम्की देखाएर फसाइएको छ । म घटनाको पुनः सत्यतथ्य छानविन गर्न सरकारसँग माग गर्न चाहन्छु ।’ गत माघ २१ मा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो । २१ माघमा बेपत्ता भएकी भट्टको भोलिपल्ट घरनजिकैको लबलेक जंगलमा शव फेला परेको थियो ।