अनलाइनबाट विद्युतको महसुल तिर्दा अब सेवा शुल्क लाग्ने, ५०० भन्दा माथिको बिलमा ५ रुपैयाँ बढी।

काठमाडौं := नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा ५ रुपैयाँ सम्म अतिरिक्त सेवा शुल्क लिन पाउने गरी नयाँ सेवा प्रदायक नियुक्त गर्ने तयारी गरेको छ।

पाँचसय रुपैयाँ सम्मको विद्युत महशुल संकलन गर्दा भने सेवाप्रदायकले ग्राहकबाट थप सेवा शुल्क लिन पाउने छैनन्। तर, पाँचसय रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको महशुल भुक्तानी गर्दा भने बढीमा पाँच रुपैयाँ सम्म सेवा शुल्क लिन पाउने गरी नयाँ सेवा प्रदायकबाट निवेदन माग गरिएको प्राधिकरणले जनाएको छ।

सेवा प्रदायकले ग्राहकबाट अधिकतम ५ रुपैयाँसम्म सेवा शुल्क लिन पाउने प्राधिकरणको प्रस्ताव छ। सेवा प्रदायकले पाँच रुपैयाँभन्दा कम सेवा शुल्क लिएर महशुल संकलन गर्न सक्ने भए सेवा प्रदायकले नै प्रस्ताव गर्नुपर्ने छ।

त्यस्तै, अबदेखि एउटा ग्राहकले महिनामा अधिकतम पाँच लाख रुपैयाँसम्म महसुल भुक्तानी गर्न सक्ने छन्। पाँच लाख रुपैयाँ भन्दा बढी महसुल तिर्नुपर्ने भएमा भने ग्राहकले विद्युत प्राधिकरणका काउन्टरमै सम्पर्क गर्नुपर्ने छ।

एउटा उपभोक्ताले एकै महिनामा दुई वा दुई पटक भन्दा बढी महशुल भुक्तानी गरेमा पनि एक पटक भन्दा बढी सेवा शुल्क लिन नपाइने प्राधिकरणको भनाई छ।

ग्रामीण क्षेत्रका ग्राहकको महशुल संकलन गर्नैपर्ने

नयाँ सेवा प्रदायकले ग्रामीण क्षेत्रका ग्राहकहरुको समेत विद्युत महशुल संकलन गर्ने/गराउने प्रतिवद्धता गर्नुपर्ने प्राधिकरणले जनाएको छ। यसअघि अनुमति पाएका इसेवा लगायतका अनलाइन महशुल भुक्तानी गर्ने सेवा प्रदायकले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नैपर्ने बाध्यकारी व्यवस्था गरिएको थिएन।     अब आउने सेवा प्रदायकले भने दुर्गम भेगका ग्राहकबाट समेत महशुल संकलन गर्नैपर्ने प्रतिवद्धता गर्नुपर्नेछ।

त्यस्तै नयाँ सेवा प्रदायकले कम्तिमा एक करोड रुपैयाँ बैंक जमानत राख्नुपर्नेछ। यदि कसैले दैनिक त्यो भन्दा बढी रकम संकलन गर्नसक्ने भए सोही अनुसार थप बैंक जमानत राख्नुपर्ने प्राधिकरणले जनाएको छ।