काठमाडौं:= नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाउनु भएको हो ।
नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।
समानान्तर भेला गरिरहेका माधवकुमार नेपाल पक्षधर सांसदहरु आउने सम्भावना रहेकाले बैठक सुरु हुन लम्बिएको थियो।
तर, बैठकका लागि बालुवाटारतिर लागेका केही सांसद बिचबाटै फर्केपछि नेपाल पक्षधर सांसद बालुवाटार पुगेनन्। आज बैठकमा उपस्थित नहुनेलाई प्रधानमन्त्री ओलीले कारवाही गर्ने जनाएका छन्। त्यसैले धेरैलाई आजको बैठकबाट हुनसक्ने निर्णयको चासो छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले डाकेको कार्यकर्ता भेलाकै समय जुधाएर संसदीय दलको बैठक डाकेका थिए। बालुवाटारमा डाकिएको बैठकमा नेकपा एमालेको नेपाल समूहका सांसद जाने र नजाने हल्लाका बिच अन्तत: कोही पनि पुगेनन्।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई उपस्थित हुन सुचना जारी गरिएको थियो ।




















