सत्ता साझेदारीका लागि एमाले र जसपाको कार्यदल बनिसकेको खुलासा,रेशम रिहाई मुख्य मुद्धा।।

काठमाडौं:= नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न पाँच सदस्यीय संयुक्त कार्यदल बनिसकेको खुलासा भएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएको खुलासा गर्नुभएको हो ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने सम्भावना बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा), नेपालको साथ खोजिरहनुभएको छ । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापनासँगै तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि समस्यामा पर्नुभएका प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोज्न सुरु गर्नुभएको हो ।

उहाँले सत्ता जोगाउन जसपाको साथ खोजिरहनुभएको अध्यक्ष महन्थ ठाकुरले नै खुलासा गर्नुभएको छ । नेकपालाई सर्वोच्चले वैधता नदिएका कारण एमाले र माओवादी ब्युँतिएपछि अल्पमतमा पर्ने निश्चित देखिएसँगै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको चौथो ठूलो दल जसपासँग सत्ता साझेदारीको प्रस्ताव राख्नुभएको छ ।

संसदीय दलको बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीबाट आएको प्रस्तावबारे ‘ब्रिफिङ’ गर्नुभएको छ । ‘उहाँ (प्रधानमन्त्री) ले वार्ताका लागि तीन जनाको टिम बनाएको छु, सत्ता साझेदारीका लागि कुरा अघि बढाऔं भन्नुभो,’ अध्यक्ष ठाकुरले राखेको भनाइ उद्धृत गर्दै एक सांसदले भन्नुभयो । ती सांसदका अनुसार प्रधानमन्त्री ओलीले बनाएको टिममा अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ ।

अध्यक्ष ठाकुरले सरकारका तर्फबाट टिम गठन भएपछि आफूले वार्ताका लागि नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पठाएको पनि बैठकमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । दुवै नेताहरूले प्रधानमन्त्री ओलीले गठन गरेको टिमसँग छलफल गर्नुभएको पनि बताइएको छ ।

स्रोतका अनुसार यसअघि गत आइतबार जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच पनि छलफल भएको थियो । छलफलका क्रममा उहाँले आफूलाई साथ दिन ठाकुरसँग आग्रह गर्नुभएको स्रोतको भनाइ छ ।

‘प्रधानमन्त्री ओलीले बोलाएपछि महन्थ ठाकुरजी बालुवाटार जानुभएको थियो,’ जसपा स्रोतले भन्यो, ‘उहाँले तपाईंको सहयोग चाहियो, सरकारमा आउनुस् भन्ने प्रस्ताव राख्नुभयो ।’ जवाफमा अध्यक्ष ठाकुरले आफ्ना सांसद रेशमलाल चौधरीको रिहाइ र मुद्दा फिर्ता गरी संविधान संशोधन गर्न तयार हुनुपर्ने शर्त अघि सार्नुभएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएर पहिलेकै अवस्थामा फर्काइदिएपछि प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ । नेकपा बदरको फैसलाका कारण एमाले र माओवादी केन्द्र औपचारिक रूपमै अलग भइसकेका छन् ।

एमालेका १२० सांसद छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए जसपासँग मिलेर प्रधानमन्त्री ओलीले विश्वासको मत जोगाउन सक्नुहुन्छ । संसद्मा ३२ सिट (दुई निलम्बितबाहेक) रहेको जसपाको समर्थनले ओलीलाई सरकारलाई टिकाइराख्न सहज हुने देखिन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि मंगलबार पहिलो पटक बसेको संसदीय दलको बैठकमा दलको नेता चयन र दलको विधान तयारका लागि मस्यौदा वितरण गरिएको छ । ‘मस्यौदा अध्ययन गरेर अर्को बैठकबाट विधान पारित गरेर सोअनुसार नेताको चयन, संसदीय दलको गठन हामी गर्नेछौं,’ बैठकपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले भन्नुभयो ।

उहाँले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिनुभयो । नेता महतोले जसपासँग वार्ता गर्न चाहने सम्पूर्ण दलहरूसँग छलफल गर्ने पनि बताउनुभयो ।

उहाँले सत्तारूढ नेकपा एमालेसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरिएको पनि स्वीकार गर्नुभयो । ‘त्यो वार्ता समितिलाई पूर्णता दिन्छौँ, अहिले अपर्झट कुरा गर्नुपर्ने भएकाले दुईटा साथीहरू पठाइएको थियो । वार्ता समितिलाई औपचारिक रूपमा चाँडै पूर्णता दिएर वार्ता गर्छौं,’ महतोले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीबाट सत्ता साझेदारीका लागि आएको भनिएको प्रस्तावको विषयलाई भने अस्वीकार गर्नुभयो । ‘होइन, त्यस्तो केही प्रस्ताव आएको छैन । हामी मुद्दा सन्दर्भमा हामी सबै पक्षसँग मुद्दा केन्द्रित छलफल, वार्ता गर्छौं,’ नेता महतोले भन्नुभयो ।