बागलुङ := नयाँ मुलुकी संहिता २०७४ लागु भएपछि बागलुङमा हरेक वर्ष सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएका छन् । जिल्ला अदालत बागलुङले तयार पारेको तथ्याङकलाई हेर्दा हरेक वर्ष सम्बन्ध विच्छेदका घटनाहरु बढेको पाइन्छ ।
चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बागलुङमा एक सय १६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । दर्ता भएका ११६ मुद्धा मध्ये ७६ वटा फैसला भएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । अझै ४० मुद्धा फैसला हुन बाँकी रहेको भण्डारीको भनाई छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधीमा सम्बन्ध विच्छेदका १ सय १६ मुद्दा मध्ये महिलाबाट ९४ र २२ वटा पुरुषबाट मुद्दा दर्ता भएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा पनि यति धेरै सम्बन्ध विच्छेदका मुद्धा परेको भन्दै अझै थपिने संभावना रहेको उहाँको भनाई छ ।
गत आर्थिक वर्ष २०७६-०७७ मा १ सय ८६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । जसमा महिलाले ३२ र पुरुषले ४० गरी ७६ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । ति मध्ये पुरुषले गरएका २२ र महिलाले दर्ता गरएका १८ गरी ४० मुद्धाको फैसला भएको थियो । ४० मुुद्धाको फैसला हुन बाँकी रहेको जिल्ला अदालत बागलुङले जनाएको छ ।
हरेक वर्ष सम्बन्ध विच्छेदका घटनाहरु बढ्नुका मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग भएको न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो । उहाँले दिनप्रतिदिन सामाजिक संचालको बढ्दो दुरुपयोग भएको बन्दै यसको सही प्रयोग हुन नसकुन्जेलसम्म यस्ता घटनाहरुमा वृद्धि आउने बताउनुभयो ।
‘अहिलेको परिवेशमा सामाजिक संजाल प्रयोग नगर्ने कमै होलान्, तर सही तरिकाले प्रयोग गर्ने थोरै छन्, यसको गलत प्रयोग हुँदा सम्बन्ध विच्छेदसँगै, महिला हिंसा, जवरजस्तस् बलात्कार लगायतका घटना समेत बढेका छन्,’ न्यायधीश न्यौपानेले भन्नुभयो ‘यस सम्बन्धि चेतनाको विकास नभएसम्म यस्ता घटनाहरु बढ्दै जाने देखिन्छ ।’ उहाँले सामाजिक सञ्जालसँगै वैदेशिक रोजगार पनि सम्बन्ध विच्छेदको कारक भएको बताउनुहुन्छ ।
‘पछिल्लो समय युवाहरुमा विदेशी मोह बढेको छ, विहे गरेको केही सयमै श्रीमतीलाई बजार छोडेर विदेश लाग्छन्, पछि सामाजिक सञ्जालका कारण श्रीमान श्रीमतीमा आशंका पैदा हुन्छ, र आन्तरिक द्वन्द्व चल्च,’ उहाँले भन्नुयो ‘श्रीमन श्रीमति बीच विवाद चर्किँदै जाँदा सम्बन्ध विच्छेद गर्ने निर्णयसम्म पुग्छन्, त्यसले गर्दा पनि जिल्लामा यस्ता घटना बढेका हुन् ।’ जिल्लामा सम्बन्ध विच्छेदसँगै अन्य घटनाहरु पनि रहेक वर्ष बढेको पाइन्छ ।
जिल्ला अदालत बागलुङले तयार पारेको तथ्याङलाई हेर्दा चालु आर्थिक वर्षको हालसम्म जवरजस्ती करणी सम्बन्धी १७, चोरी सम्बन्धी ९, घरेलु हिंसा सम्बन्धी ८, हातहतियार सम्बन्धी १०, ज्यान मुद्धा सम्बन्धी ८, बहुविवाह ५, लागु औषध सम्बन्धी ५, आत्महत्या दुरुत्साहन सम्बन्धी २, बाल यौन दुरुपयोग सम्बन्धी २, अपहरण शरीर बन्धक सम्बन्धी २, पशुपंक्षीको कसुर ६, बोक्सी आरोप सम्बन्धी १, विवाह बदर १, बालविवाह १, संगठित ठगी १, करारको यथावत परिपालन १, झुठो विवरण पेश गरी नागरिकता लिएको १ मुद्धा परेका छन् । चालु आर्थिक वर्षमा दर्ता भएका २९० दर्ता भएका मुद्दा मध्ये ९७ फैसला भएका छन् भने १९४ बाँकी रहेको छ ।




















