एपीएफ महिला लिग च्याम्पियन।

काठमाडौं := विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलसँगै एपीएफ च्याम्पियन बनेको हो । आर्मी र पुलिसले बराबरी खेलेपछि उनीहरूले बाँकी खेल जित्दा पनि शीर्षमा रहेको एपीएफलाई नभेटाउने भएका हुन् ।

बराबरीसँगै एपीएफ दुई खेल अगावै च्याम्पियन बनेको हो । बाँकी दुई खेल गुमाएमा पनि एपीएफलाई केही फरक पर्नेछैन । पुलिससँग अंक खोसेको आर्मीले पनि उपविजेताको स्थान पक्का गरेको छ । दुई अगाडि नै च्याम्पियन बनेको एपीएफको १० खेलमा ३० अंक छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । विराटनगर महानगरपालिका १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । पुलिस ११ खेलमा १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।