महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक।

काठमाडौं:= राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । महिला लिगको दोस्रो चरणको खेलहरू शनिबारबाट सुरु हुने एन्फाले जनाएको छ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन एक खेलमात्रै भए पनि त्यसपछिका दिनमा दुई खेल हुनेछन् । माघ २५ गते विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका त्यस्तै नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बीच खेल हुनेछ ।

जारी महिला लिगको पहिलो चरण सकिँदा साविक विजेता एपीएफ अपराजित छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहँदा आठ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा छ ।

वालिङ नगरपालिका आठ अंक जोडेर पाँचौं, तीन अंक जोडेको चन्द्रपुर छैटौं र अंकविहीन चौदण्डीगढी पुछारमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी महिला लिग पहिलोपटक राउण्ड रोविनको आधारमा हुन लागेको हो । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।