काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ । सन्दीपलाई ‘द हन्ड्रेड’ टिम ओभल इन्भेन्सीबल्स टोलीले ‘रिटेन’ गरेको हो ।
सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सिबल्सले एक लाख पाउण्ड (करिब एक करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन । यसअघि गत जुलाईमा प्रतियोगिता आयोजना हुने तय थियो ।
एक सय बलको हुने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा आठ टिम रहनेछन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।




















