काठमाडौं:= कर्मचारीतन्त्रमा स्वच्छ छविको प्रशासकको रूपमा परिचय बनाउनुभएका पूर्व–गृहसचिव प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको रूपमा कार्यभार सम्हाल्नुभएको छ । लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा राईको नियुक्तिले धेरैको चासो बढेको छ ।
गैरसंवैधानिक तवरले सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको भन्दै विरोध भइरहँदा सरकारले भने कानुनसम्मत नियुक्ति भएको जिकिर गरेको छ । नवनियुक्त संवैधानिक आयोगका पदाधिकारीमध्ये धेरैको ध्यान अख्तियारका प्रमुख आयुक्तमा परेको छ । नवनियुक्त प्रमुख आयुक्त राई शालीन, भद्र र कुशल प्रशासकका रूपमा परिचित भएकाले पनि उहाँको नियुक्तिबाट केही सुधारको अपेक्षा पनि गरिएको छ । ठूलाठूला भ्रष्टाचारीहरूलाई पनि अख्तियारले कारबाही गर्न नसकेको र दबाबमा परेर दोषीलाई उन्मुक्ति दिएको भन्दै आयोगको आलोचना पनि हुने गरेको छ।
यस्तोे छ राईको विगत
२०१८ सालमा संखुवासभाको खोरण्डे गाउँमा मध्यमवर्गीय किसान परिवारमा जन्मिनुभएका राईले संखुवासभाको खाँदबारीस्थित हिमालय माबिबाट २०३५ सालमा एसएलसी पास गर्नुभएको थियो । उच्च शिक्षाका लागि काठमाडौं आएपछि उहाँले २०३९ सालमा शंकरदेव क्याम्सपसबाट आइकम पास गर्नुभयो । राईले अध्ययनकै क्रममा २०४० लेखापालबाट सरकारी जागिरमा प्रवेश गर्नुभएका राईले २०४४ सालमा शाखा अधिकृतमा नाम निकाल्नुभयो । २०४९ सालमा उपसचिवको जिम्मेवारी पाउनुभएका उहाँले सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गर्नुभएको छ ।
सचिव भएर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गर्नुभएको थियो ।
२२ महिना गृहसचिवको जिम्मेवारी सम्हाल्नुभएका राईले २०७६ साल माघ २० गतेबाट अवकाश लिनुभएको थियो ।
गत मंसिर ३० को साँझ ५ बजेपछि बसेको संवैधानिक परिषद्को बैठकले उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । राई प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त नजिकका विश्वासपात्र हुनुहुन्छ । राईले गृहसचिव हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सम्मको विश्वास जित्न सकेका प्रशासकको रूपमा उहाँलाई हेरिन्छ ।
राईले नै बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा चासो लिएर अनुसन्धान गर्न लगाउनुभएको थियो । उहाँकै निर्देशनमा नेपाल प्रहरीको सिआइबीलाई अनुसन्धानको महŒवपूर्ण पाटोको जिम्मा दिइएको थियो । राईकै पहलमा बालुवाटारको ११३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो । व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन राईसँग प्रशासन व्यवस्थापन र गृह प्रशासनको लामो अनुभव छ । कुनै समस्या समाधान गर्न छिटो निर्णय गर्ने र एक्सनमा गरिहाल्ने प्रवृत्तिका कारण उहाँ कर्मचारीतन्त्रमा ‘प्रिय’ हुनुहुन्छ ।




















