यसरी टुंगियो सुष्मा कार्की र उत्सव रसाइली बीचको विवाद।

काठमाडौं:= अभिनेत्री सुष्मा कार्की, रंग पत्रकार उत्सव रसाइली र अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्काबीचको विवाद सहमतिमा टुंगिएको छ । मंगलबारदेखि सुरु भएको यो विवाद बुधबार प्रहरीसँगको छलफलमा टुंगिएको हो । 

सुष्मासँग उत्सव र आरतीले माफी मागेपछि विवाद सकिएको हो । उत्सवले आफूहरूबीच असमझदारी भएको भन्दै सबैको तर्फबाट माफी माग्नु भएको थियो । सुष्माले पनि आफ्नो भाइ जस्तै मानिस भएको भन्दै माफी दिएको बताउनुभयो । स्वेताकी बहिनी आरती खड्काले आफूबाट गल्ती भएको भन्दै माफी माग्नुभयो । 

झगडा हुने क्रममा सुष्माको मोबाइल फुटेको र उक्त मोबाइल बनाइदिने सहमति भएको छ । उत्सवले सामाजिक सञ्जालमा एकअर्काको बारेमा गाली गलौज भएको भन्दै यस्तो नगर्न सबैसँग आग्रह गर्नुभएको छ । गत सोमबार राति दरबारमार्गस्थित लण्डन पबमा उहाँहरूबीच झगडा भएको थियो । सुष्माले आफूमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो । 

सोमबार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उहाँका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुग्नु भएको थियो । सोही क्याफेमा सुष्मा पनि साथीहरूसँग पुग्नु भएको थियो । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा झगडा भएको थियो ।