काठमाडौं:= नेपालको राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने भएको छ । एसियन भलिबल महासंघ (एभिसी)को मंगलबार बसेको बैठकले यसवर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई समेत खेलाउने निर्णय गरेको हो ।
नेपाल भलिबल संघले सहभागिता गरेको दाबी प्रस्ताव उपर छलफल गर्दै एभिसीले नेपाललाई प्रतियोगिता खेलाउने निर्णय गरेको संघका महासचिव जितेन्द्र चन्दले बताउनुभयो । चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने तालिका छ ।
प्रतियोगितामा आयोजना चीनसहित १६ टिमले सहभागिता रहनेछ । सेन्ट्रल जोन, मध्य इष्ट जोन र वेष्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाललाई खेलाउने निर्णय बैठकले गरेको हो । गतवर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो त्यसअघि नेपालले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जितेको थियो । नेपालको निरन्तर उत्कृष्ट प्रदर्शनलाई आधार मानेर एभिसीले नेपाललाई एसियन च्याम्पियनसिपमा मौका दिएको हो ।




















