काठमाडौं:= पछिल्लो समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा लगानी उच्च हुँदै गएको छ । केही वर्षअघिसम्म एक भिडियोका लागि एकदेखि दुई लाख लगानी हुँदा ठूलो लगानी मानिन्थ्यो तर अहिलेको समयमा एक म्युजिक भिडियो साधारण तया ५ लाखदेखि १५ लाखसम्ममा बन्न थालेका छन् ।
यसैबीच सोमबार सार्वजनिक गरिएको ‘भीरमा सेती गाई’ बोलको गीतमा १५ लाख लगानी लगाइएको छ । विशेषगरी अडियो र भिडियोको काम सम्पन्न भएर सार्वजनिक हुँदासम्म १५ लाख लगानी लागेको गीतको निर्माता तथा गायक बिरु लामाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । गीतको अडियोमा मात्र तीन लाख लगानी लागेको गायक लामाको भनाइ छ । ‘हामीले लगानीमा कुनै पनि कम्प्रमाइज गरेका छैनौं । गीतकी गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिने कुरा धेरै दर्शकलाई पनि थाहा भएकै कुरा हो । अडियोमा प्रयोग भएका बाजाहरूलाई मात्र ५० हजार लागेको छ, स्टुडियो खर्चदेखि अडियोको सबै खर्च हिसाब गर्दा तीन लाख पुगेको छ ।’ गायक तथा निर्माता लामाले भन्नुभयो ।
नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा विशेषगरी ठूलो लगानीमा बनेको भिडियो धेरै छैनन् । अडियो राम्रो भएकाले भिडियोमा पनि त्यहि किसिमको लगानी गर्नुपर्ने भएकाले आफूले कुनै कुरामा कमी नगरेको गायक लामाले बताउनु भएको छ । यस्तै गीतका सर्जक शिव हमालले आफ्नो ‘बिग प्रोजेक्ट’को रूपमा रहेको गीत सार्वजनिक गरेको र बाँकी जिम्मा दर्शककमा छाडिदिएको बताउनुभयो ।
गीतको भिडियो तीन दिन लगाएर छायांकन गरिएको छ । जसमा काठमाडौंको पाँचतारे होटलमा एक दिन र पोखरा र अन्य ठाउँ गरेर दुई दिन छायांकन गरिएको छ । काठमाडौंका पाँचतारे होटलमा एक दिन छायांकन गरेको मात्र दुई लाख रुपैयाँ लाग्दछ ।
गीतको भिडियोमा मौसम हिमालीको निर्देशन छ । भिडियोमा सागर लम्साल र रुविना अधिकारीको मुख्य अभिनय छ । भिडियो प्रवीन भट्टले सम्पादन गर्नुभएको छ । ‘भिडियोको मात्रै लगानीको कुरा गर्ने हो भने ८ देखि १० लाख लागेको छ । बाँकी अडियो र प्रमोशनमा खर्च गरिएको हो’, भिडियोका निर्देशक मौसम हिमालीले भन्नुभयो । भिडियो शिव हमाल युट्युब च्यानलमा हेर्न सकिन्छ ।




















