उधारो सहमति गर्दैनौं भन्दै वार्तामा गएनन् किसान।

काठमाडौं:= बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै उखु किसानहरूले दोस्रो दिन पनि राजधानी केन्द्रित प्रदर्शन गरेका छन् । आफ्नो उत्पादनको मोल पाउन पटक–पटक आन्दोलन गर्न बाध्य उखु किसानले आइतबारदेखि काठमाडौंमा आन्दोलन थालेका हुन् । किसानहरूले यो प्रदर्शनलाई निर्णायक बनाउने बताएका छन् । नागरिक समाज, सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउनेलगायत कार्यक्रम पनि आयोजना गर्ने तयारी किसानहरूको छ ।

किसानहरूको दोस्रो दिनको आन्दोलनमा चर्चित लोक दोहारी गायक बद्री पंगेनी पनि सहभागी भएका थिए । उनले किसानहरूको आन्दोलनमा समर्थन जनाउँदै आन्दोलनको पक्षमा गीतसमेत गाएका थिए । 

यता, सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरूलाई बोलाएर वार्ता गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरूलाई वार्तामा बोलाएको थियो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको मन्त्रालयले जनाएको छ । 

उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरू तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसँगको छलफलमा सहभागी थिए । मन्त्रालयले उद्योगीलाई किसानको बक्यौता छिटो भुक्तानी दिन ताकेता गरेको थियो । मन्त्रालयले उद्योगी र किसानलाई छलफलमा बोलाए पनि किसानहरू भने वार्तामा गएनन् । पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर फर्किने उनीहरूको क्रम दोहोरिरहेको छ । यसैले पनि उनीहरू वार्तामा नबस्ने बताएका छन् । यसपटक भने किसानहरू नगदमै सहमति गरेर मात्रै घर फर्किने अडानमा रहेका छन् ।

किसानहरूले गत वर्षको पुस १८ गते आफूहरूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै किसानले फेरि आइतबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको सुरु गरेका हुन् । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरूले अझै उखुको पैसा नपाएपछि फेरि आन्दोलन गर्न बाध्य भएका छन् ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजेथा बिक्री गरेर भए पनि किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर, सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन् । 

उखु किसानले चार वटा चिनी मिलबाट करोडौं रुपैयाँ पाउनुपर्ने छ । किसानले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट चार करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट आठ करोड ४१ लाख र अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपैयाँ पाउन बाँकी छ । 

किसानको आन्दोलनलाई विभिन्न दलहरूले समर्थन गरेका छन् । यतिवेला सरकारविरुद्ध देशभर विभिन्न आन्दोलन भइरहेका छन् र सडक प्रदर्शनको माहोल तात्तिँदै गएको छ । विभिन्न समूह र राजनीतिक दलको प्रदर्शन भइरहेको छ । नेपाली कांग्रेसले ७७ जिल्लामा सोमबार बृहत् प्रदर्शन र सभा गरेको छ भने विगत केही समयदेखि देशभर राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै ¥याली तथा प्रदर्शन भइरहेका छन् ।

राजसंस्थाको माग गर्दै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर हुँदै मुख्य शहरहरू विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, दाङ, सुर्खेत, धनगढी, नेपालगञ्जलगायत क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । पछिल्लो समय राजधानीमा केन्द्रित छ राजसंस्था पुनःस्थापनाको प्रदर्शन । सडक प्रदर्शनका माहोल तात्तिँदै जाँदा सरकार भने संयम भएको छ । उसले बल प्रयोग गरेको छैन । यता, कोरोना भाइरसको जोखिम रहेको भन्दै गृह प्रशासनले प्रदर्शन तथा जमघट नगर्न सूचना नै जारी गरेको छ । सूचनाका बाबजुद प्रदर्शन, भेला र जुलुसहरू भने दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।