मलेसियाको FWCMS सूचीकरण विवाद समाधान गर्न मन्त्री यादवको मलेसियासँग कूटनीतिक पहलको आग्रह।

काठमाडौं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमान ले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव सँग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको Foreign Workers Centralized Management System (FWCMS) मा नेपालका केही इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य तथा सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयमा नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ।

मन्त्री यादवले उक्त सूचीकरणका लागि अपनाइएको मूल्याङ्कन प्रणाली, मापदण्ड तथा प्रक्रियासम्बन्धी विवरण नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन मलेसियाली पक्षसँग अनुरोध गर्नुभएको छ।

उहाँले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा सीमित हुने वा कुनै निश्चित संस्था वा समूहको नियन्त्रण कायम हुने किसिमको व्यवस्था नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। यस्तो व्यवस्था नेपालको प्रचलित कानुनी प्रावधान तथा नेपाल–मलेसिया द्विपक्षीय श्रम सम्झौताको मर्मविपरीत हुन सक्ने विषयमा समेत मन्त्री यादवले ध्यानाकर्षण गराउनुभएको बताइएको छ।

मन्त्री यादवले सबै इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने नेपालको स्पष्ट धारणा रहेको बताउनुभएको छ।

भेटवार्ताका क्रममा केही सूचीकृत इजाजतपत्र प्राप्त संस्थाहरूले आफूहरू FWCMS प्रणालीबाट बाहिरिन चाहेको विषयमा समेत मलेसियाली कार्यवाहक राजदूतलाई जानकारी गराइएको थियो।

यस विषयलाई यथाशीघ्र समाधान गर्न द्विपक्षीय कूटनीतिक परामर्शलाई अघि बढाउँदै नेपाल सरकारको पहलमा मलेसिया सरकारसँग आवश्यक समन्वय र सहजीकरणका लागि भूमिका निर्वाह गर्न मन्त्री यादवले कार्यवाहक राजदूत अजमानलाई अनुरोध गर्नुभएको छ।

भेटवार्ताले नेपाल–मलेसिया श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउँदै नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी प्रक्रियामा पारदर्शिता, समान अवसर र निष्पक्ष प्रतिस्पर्धा कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको देखाएको छ।