क्वालालम्पुर(मलेसिया):= नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मलेसियामा समाजसेवाको क्षेत्रमा एकदमै सक्रिय संस्था “जनउद्धार केन्द्र मलेसिया”ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार मलेसियन रिंगेट (करिब ३ लाख ७३ हजार ५ सय ५० रुपैयाँ) आर्थिक सहयोग गरेको छ।
जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाका अनुसार संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमबाट संकलित रकम, संस्थागत सहयोग तथा पदाधिकारी एवं सदस्यहरूको व्यक्तिगत योगदानलाई एकीकृत गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।
अध्यक्ष थापाका अनुसार कुल १० हजार रिंगेटमध्ये तीज विशेष कार्यक्रमबाट २ हजार ६ सय १० रिंगेट, जनउद्धार केन्द्रको संस्थागत तर्फबाट २ हजार ४ सय ९७ रिंगेट तथा संस्थाका पदाधिकारी एवं सदस्यहरूको व्यक्तिगत योगदानबाट ४ हजार ८ सय ९३ रिंगेट संकलन भएको हो।

संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनउद्धार केन्द्रले जनाएको छ। विपत्तिका कारण प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला राहत तथा उद्धार कार्यमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष थापाले बताए।
जनउद्धार केन्द्र मलेसियाले मलेसियामा समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न समयमा उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। विशेषगरी समस्यामा परेका नेपाली श्रमिक तथा समुदायका सदस्यलाई आपत्कालीन अवस्थामा सहयोग पुर्याउँदै आएको संस्थाले जनाएको छ।

जनउद्धार केन्द्रका अनुसार संस्था मलेसियामा नेपाली समुदायको हित र सेवाका लागि स्थापना भएको प्रारम्भिक वैधानिक संस्थामध्ये एक हो। संस्थाले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।
प्राकृतिक विपत्तिका बेला प्रवासमा रहेका नेपाली समुदायबाट मातृभूमिप्रति देखाइएको सहयोग र ऐक्यबद्धताको निरन्तरताका रूपमा जनउद्धार केन्द्रको यो सहयोगलाई लिइएको छ।




















