क्वालालम्पुरमा नक्कली e-PLKS बनाउने गतिविधिमा संलग्न ११ बंगलादेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले नक्कली E-PLKS बनाउने तथा उपलब्ध गराउने गतिविधिविरुद्ध सञ्चालन गरेको ‘Ops Serkap’ अन्तर्गत क्वालालम्पुरको Jalan Chan Sow Lin क्षेत्रका ११ वटा व्यावसायिक परिसरमा एकैसाथ छापा मारेको छ।

अध्यागमन विभागका अनुसार १४ सेप्टेम्बर २०२६ दिउँसो करिब १२ः५० बजे गरिएको उक्त कारबाहीमा Putrajaya मुख्यालयबाट खटिएको ४० जना अधिकारीको टोली सहभागी थियो। नक्कली e-PLKS सम्बन्धी सेवा प्रदान भइरहेको आशंकामा ती परिसरमा छापा मारिएको हो।

कारबाहीका क्रममा २३ देखि ४८ वर्ष उमेर समूहका ११ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा १० पुरुष र एक महिला रहेका छन्। छापाका क्रममा अध्यागमन अधिकारीहरूले १८ वटा कम्प्युटर, २१ वटा प्रिन्टर तथा स्क्यानर, तीनवटा मोबाइल फोन, १० वटा बंगलादेशी राहदानी तथा नक्कली भएको आशंका गरिएका केही e-PLKS प्रिन्टआउट बरामद गरेका छन्।

त्यस्तै, कथित रूपमा नक्कली बनाइएका केही प्रहरी प्रतिवेदनसमेत फेला परेको विभागले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त परिसरबाट प्रति e-PLKS करिब RM१५० मा नक्कली कागजात उपलब्ध गराउने तथा नक्कली प्रहरी प्रतिवेदन करिब RM७० मा तयार पार्ने गरेको आशंका गरिएको छ।

अध्यागमन विभागका अनुसार ती कागजातहरू बंगलादेशी नागरिकका लागि राहदानी आवेदन प्रक्रियामा सम्बन्धित अधिकारीलाई झुक्याउन प्रयोग गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा अन्य व्यक्ति वा समूहको समेत संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ।

अध्यागमन विभाग (JIM) ले अध्यागमन कानुन उल्लंघन गर्ने, कागजात किर्ते गर्ने वा नक्कली कागजात प्रयोग गरी सरकारी निकायलाई झुक्याउने जोसुकै व्यक्ति वा पक्षविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

विभागले सर्वसाधारणलाई अध्यागमनसम्बन्धी कामका लागि अनधिकृत एजेन्ट वा अवैध सेवा प्रदायकको प्रयोग नगर्न तथा सबै प्रक्रिया सम्बन्धित सरकारी निकायका आधिकारिक माध्यमबाट मात्र पूरा गर्न आग्रह गरेको छ।

फोटो र समाचार स्रोत : मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन” मलेसिया ।