दिल्लीकी नाजिया बनिन् ‘कौन बनेगा करोडपति १२’ को पहिलो करोडपति।

एजेन्सी:= भारतीय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ अहिले १२ औं संस्करणमा छ। कार्यक्रमले बुधबार १२ औं संस्करणको पहिलो करोडपति पाएको छ। 

दिल्लीकी नाजिया नसिम १२ औं संस्करणको पहिलो करोडपति बन्न सफल भएको भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ। नाजियाको खेल मंगलबारको एपिसोडमा सुरू भएको थियो भने यो बुधबारसम्म लम्बियो। 
उनको खेलको एपिसोडको प्रोमो भिडिओमा कार्यक्रम संचालक अमिताभ बच्चनले नाजियाजस्ता प्रतियोगी निकै कम हुने भन्दै टिप्पणी गरेका थिए। 

नाजियालाई १ करोडको लागि यो सोधिएको प्रश्न यस्तो थियो- यी मध्ये कुन अभिनेत्रीले एक पटक सर्वश्रेष्ठ महिला प्लेब्याक गायिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्? जवाफमा दिपिका चिखलिया, रुपा गान्गुली, नीना गुप्ता वा किरन खेरमध्ये एक रोज्नुपर्ने थियो। 

नाजियाले यसको सही उत्तरमा भनिन्, रुपा गान्गुली। 

भारु . १ करोड जितेसँगै नाजियाले इन्डिया एक्सप्रेससँग कुरा गर्दै आफ्नो २० वर्ष अघिदेखिको सपना पूरा भएको बताएकी छिन्।  ‘यो कार्यक्रम प्रश्न-उत्तरको खेल मात्र होइन, नाजियाले भनेकी छन्, ‘मध्यमवर्गीय परिवारमा जन्मे हुर्केकाहरुका लागि यो कार्यक्रम एउटा आकांक्षा पनि हो। यो कार्यक्रमले हामीलाई आफैंभित्रको प्रतिभा चिन्ने र देखाउने मौका दिन्छ।कार्यक्रमको हटसिटमा बस्ने सपना धेरैको हुन्छ।’ 
उनले यो उपलब्धी हात पार्नुमा आफ्नी आमाले निरन्तर प्रेरित गरेको समेत बताएकी छन्।