काठमाडौं:= यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।यस बर्षको मिस नेपाल २०२० को फाइनल दर्शक बिनै हुने भएको छ । आयोजक संस्था हिडन ट्रेजरले मिस नेपालको फाइनल आउँदो मंसिर २० गते हुने बताएको छ । केहीदिन अगाडि काठमाडौं अडिसन सम्पन्न गरिसकेको आयोजक हिडन ट्रेजरले फाइनलको तयारी सुरु गरिसकेको जनाएको छ ।
प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिनुभयो । ‘यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं । अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,’ अध्यक्ष दिवाकरले भन्नुभएको छ । अन्य वर्ष तीनदिन रेसिडेन्सियल तालिम गराउने आयोजकले यो वर्ष १५ दिन होटलमा राखेर प्रतिस्पर्धीलाई ट्रेनरबाट तालिम दिने छ । यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् ।
दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन् । कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन्।




















