अभिनेता शाहरुख खानको चलचित्र ‘पठान’ मा दीपिकाले लिइन १५ करोड पारिश्रमिक।

एजेन्सी:= बलिउड अभिनेता शाहरुख खानको आउँदो चलचित्र ‘पठान’ को निकै चर्चा चुलिएको छ । यस चलचित्रलाई लिएर यतिबेला भारतीय चलचित्र नगरीमा निकै चर्चा भइरहेको छ । चलचित्रको छायांकन प्रारम्भ नहुँदै विभिन्न कारणले यो चलचि सुपरहिट हुने अनुमान र विश्वास गर्न थालिएको छ । निर्माण पक्षले भने चलचित्रका बारेमा अहिलेसम्म औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया दिएको छैन।

‘पठान’ मा अभिनेता शाहरुखको अपोजिट अभिनेत्री दीपिका पादुकोण रहने निधो भएको छ । यो जोडीले यसअघि ‘ओम शान्ति ओम’ र ‘चेन्नइ एक्सप्रेस’ मा काम गरिसकेको छ । यी दुवै चलचित्र निकै सफल भएकाले यो जोडीको तेस्रो चलचित्र पनि सफल हुने अनुमान भारतीय चलचित्र विश्लेषकले गर्न थालेका छन् । पछिल्लो समय चलचित्र ‘पठान’ का लागि अभिनेत्री दीपिकाले लिएको पारिश्रमिकलाई लिएर पनि यसको व्यापक चर्चा भइरहेको छ । यस चलचित्रका उनले १५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जिकिर गरेका छन् । अभिनेत्री दीपिका पछिल्लो समय बलिउडमा निकै चलेकी सबैभन्दा सफल अभिनेत्रीमा दरिएकी छन्।

निर्माण पक्षका अनुसार चलचित्रमा दीपिकाको भूमिका पनि मुख्य र कथाको केन्द्रमा रहने पात्र भएका कारणले बढी पारिश्रमिक दिइएको हो । अभिनेता शाहरुख दुई वर्षपछि पठानमार्फत पर्दामा फर्किंदैछन् । दीपिका भने पठानका अलवा सिद्धान्त चतुर्वेदीसँग सकुन बत्राको चलचित्रमा काम गरिरहेकी छन्।

लामो समयपछि बलिउडका किङ खानका रुपमा परिचित शाहरुखको चलचित्र आउन लागेको हो। अर्को वर्षको दीपावलीको अवसरमा चलचित्र सार्वजनिक गर्ने निर्माण पक्षले तयारी गरिरहेको छ। सौर्य दैनिकमा खबर छ । चलचित्रमा करिब तीन वर्षपछि फर्किएका शाहरुखले अभिनेत्री दीपिकासँग रोमान्स गर्नेछन् । चलचित्र निर्माता आदित्य चोपडाको २०० करोड ९भारतीय रुपैयाँ० लगानी रहने उक्त चलचित्रमा दीपिकाको पारिश्रमिक १५ करोड रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै, चलचित्रमा खलनायकको भूमिकामा अभिनेता जोन अब्राहम रहने छ । साथै उनले पारिश्रमिक २० करोड रहेको जनाइएको छ।