नेपाली चलचित्र ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गर्दै।

काठमाडौं := हलमा प्रदर्शनरत चलचित्र ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । निर्माण टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले दुई सातामा साढे सात करोड ग्रस कलेक्सन गरेको छ । चलचित्र शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।

दोस्रो साता गरेको कमाइबारे चलचित्र विकास बोर्डको रिपोर्ट आउन भने बाँकी नै छ । गत सोमबार बोर्डले सार्वजनिक गरेको रिपोर्ट अनुसार, ‘परान’ले नौ दिनमा तीन करोड ७१ लाख ग्रस कलेक्सन गरेको देखिन्छ । बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको विवरण सार्वजनिक गरेको थियो ।

सुरुमा यस चलचित्रको व्यापार न्यून थियो । प्रदर्शनको पहिलो दिन चलचित्रले पाँच लाखको ओपनिङ गरेको थियो । तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो । दोस्रो साताको शनिबारमात्रै एक करोडभन्दा बढीको कमाइ गर्न सफल भयो।

यो चलचित्रमा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ । दीपकप्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको यो चलचित्रमा अभिनेता नीर शाह मुख्य भूमिकामा हुनुहुन्छ ।

चलचित्रमा शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बालकलाकार आर्यादीप आचार्यलगायतको अभिनय छ ।