नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौँ उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी आज नष्ट गरेको हो । 

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले रु १४ लाख मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौँ जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जानकारी दिनुभयो । 

प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ । यस्तै आजै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममा समेत पटाका फेला परेको छ । 

थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो । प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ । 

दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

४० लाख नगदसहित एक पक्राउ 

नेपाल प्रहरीले स्रोत नखुलेको रु ४० लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा चेकजाँचका क्रममा स्रोत नखुलेको रु ४० लाख नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई आज बिहान पक्राउ गरेको हो । 

प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

गुप्ताले रु एक लाख दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रासस