कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिकमाथि यौन दुव्र्यवहार र शोषणः एम्नेष्टि।

कतार := एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनले अत्यधिक कामको बोझ, विश्रामको अभाव, दुव्र्यवहार र अपमानजनक व्यवहारका कारण कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिकहरू विक्षिप्त हुने अवस्थामा धकेलिएको निश्कर्ष निकालेको छ।

आवासीय घरेलु श्रमिकको रूपमा कतारमा कार्यरत १ सय ५ जना महिलाहरूसँग गरेको कुराकानीका आधारमा एम्नेष्टिले सो निश्कर्ष निकालेको हो । सो संस्थाले विज्ञप्ती जारी गर्दै कतार सरकारले श्रमिकको अवस्था सुधार्ने उद्देश्यले प्रयासहरू गरेपनि अझै पनि उनीहरूको अधिकारको उल्लंघन भइरहेको जनाएको छ । विज्ञप्तीमा केही महिलाहरूले त आफूहरू यौन दुव्र्यवहार जस्तो गम्भीर अपराधको शिकार भएको समेत बताएको जनाइएको छ।

सन् २०१७ मा कतारले घरेलु श्रमिक ऐन लागू गरेको थियो जसले काम गर्ने दैनिक समयसीमा तोक्नुका साथै अनिवार्य दैनिक विश्राम, हप्ताको एक दिन विदा र तलवी विदाको व्यवस्था गरेको थियो । तीन वर्ष बितिसक्दा पनि एम्नेष्टीले सम्पर्क गरेका १ सय ५ जना मध्ये ९० जना महिलाले नियमित रूपमा प्रति दिन १४ घण्टा भन्दा धेरै काम गरेको जनाएका थिए । यसैगरी ८९ जनाले नियमित रूपमा हप्ताको सातै दिन काम गरेको र ८७ जनाले त उनीहरूको रोजगारदाताले आफ्नो राहदानीसमेत जफत गरेको बताएको जनाइएको छ।

कुराकानी गरिएका मध्ये आधाजसो महिलाले दैनिक १८ घण्टा भन्दा धेरै काम गरेको र सबैले एक दिन पनि कहिल्यै विदा नपाएको बताएको विज्ञप्तीमा उल्लेख छ । केहीले उचित पारिश्रमिक नपाएको र ४० जना महिलाले त आफूलाई अपमान गरिएको, झापड हानिएको र थुकिएको समेत जनाएको उल्लेख छ । एक महिलाले आफूलाई “कुकुर सरह” व्यवहार गरेको बताएको एम्नेष्टिले उल्लेख गरेको छ।

“सन् २०१७ मा ल्याइएको घरेलु श्रमिक ऐन कतारमा श्रमिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो । तर दुखद् कुरा के छ भने हामीले कुरा गरेको महिलाका अनुभवहरूले यी सुधारहरूलाई ठीकसँग कार्यान्वयन वा लागू नगरिएको स्पष्ट भएको छ” एम्नेष्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भनेका छन्।

“घरेलु श्रमिकहरूले हामीलाई दिनको औसत १६ घण्टासम्म र हप्तैभरी काम गरेको सुनाए जुन कानुनले निर्धारण गरेको भन्दा धेरै हो । लगभग सबैको राहदानी रोजगारदाताले जफत गरेका थिए र अन्यले भने आफ्नो पारिश्रमिक नपाएको र आफूलाई क्रुर आक्रमण र अपमानको शिकार बनाइएको विवरण दिएका छन् । यो समग्र अवस्थाले कतारमा रोजगारदाताले घरेलु श्रमिकलाई मानिस भन्दा वस्तुको रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ” विज्ञप्तीमा जनाइएको छ।

कतारमा लगभग १ लाख ७३ हजार घरेलु आप्रवासी श्रमिकहरू छन् । एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका केही महिलाहरू अझै उनीहरूको काममा थिए । केही भने काम छाडिसकेका भएपनि कतारमै बसिरहेका थिए र अन्य श्रमिकहरू भने आफ्नो देश फर्किसकेका थिए । श्रमिक महिलाहरूले विवरण दिएका रोजगारदाताहरू पनि विभिन्न देशबाट आएका थिए । पहिचानको गोपनीयताका लागि सबैको नाम परिवर्तन गरिएको एम्नेष्टिले जनाएको छ।

कतारले हालका वर्षहरूमा आप्रवासी श्रमिकहरूको काम गर्ने अवस्था सुधारका लागि धेरै पहलहरू गरेको छ । घरेलु श्रमिक र उनीहरूका रोजगारदाताका लागि सचेतना अभियान शुरू गरेको छ र घर बाहिर बस्ने घरेलु श्रमिकका लागि एउटा पाईलट कार्यक्रम लागू गरेको छ।

यसैगरी पछिल्लो समय कतारले न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ र काम परिवर्तन गर्न वा देश छोड्नका लागि रोजगारदाताको अनुमति पेश गर्नु पर्ने आवश्यकतालाई अन्त्य गरेको छ । यी नयाँ कानुनी परिवर्तनहरूले श्रमिकलाई शोषणकारी रोजगारदाताहरूबाट उम्कन सजिलो बनाउन सक्ने भएतापनि सुरक्षाको सुदृढीकरण र कानुन कार्यान्वयनको सुनिश्चितताका लागि अतिरिक्त उपायहरूबिना यिनले उल्लेखनीय रूपमा दुव्र्यवहार नघट्ला र घरेलु श्रमिकको अवस्थामा पनि सुधार नआउला भन्ने एम्नेष्टिको ठहर छ।

विज्ञप्तीमा घरेलु श्रमिकहरूले भोगेका दुव्र्यवहार मध्ये बिना विश्राम लामो समयसम्म काम गर्नुपर्ने कुरा सवैभन्दा धेरै देखिएको साझा समस्या रहेको उल्लेख छ । उनीहरूको करारपत्रअनुसार घरेलु श्रमिकहरूले धेरैमा १० घण्टा र हप्ताको ६ दिन मात्र काम गर्नु पर्ने र यो अन्तराष्ट्रिय श्रम सङ्गठनले निर्धारण गरेको भन्दा पनि उच्च मापदण्ड हो । तर एम्नेष्टीले कुराकानी गरेका प्रायः महिलाहरूले यो भन्दा धेरै नै बढी समय काम गरिरहेका थिए र उनीहरूले दिनको औसत १६ घण्टा काम गर्थे जुन हप्तामा १ सय १२ घण्टा हुन पुग्दछ । तर उनीहरूलाई अतिरिक्त समय काम गरेकोमा कुनै पारिश्रमिक नदिइएको पाईएको एम्नेष्टिको ठहर छ।

अन्तर्वार्ता गरिएका मध्ये कम्तीमा २३ जना महिलाले काम गर्दा आफूलाई पर्याप्त खान नदिएको र भोकै रहनुपरेको बताएका थिए । कतिपयले कोचाकोच भरिएको कोठामा सुत्नुपरेको, केहीले त भुईंमा र एयर कन्डिसन नभएको कोठामा सुतेको पनि बताएको विज्ञप्तीमा जनाइएको छ । यसैगरी कुराकानी गरिएका ४० जना महिलाहरूले आफूहरू शाब्दिक र शारीरिक दुव्र्यवहारमा परेको र प्रायले अपमानजनक व्यवहार, चिच्याएर गरिएको गालिगलौच र अन्य अपमानहरू सहनु परेको उल्लेख छ। deshpradesh.com