काठमाडौं := जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समिति ८०१ सदस्यीय भएको छ । यसअघि केन्द्रीय समिति ७०१ सदस्यीय थियो, तर मंगलबार ललितपुरमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय समितिमा ८०१ सदस्य रहने निर्णय गरेको हो ।
जसपाका आजकै बैठकले संघीय परिषद् गठन गरेको छ । जसको अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिइएको छ । संघीय परिषद केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हुने व्यवस्था छ । यस हिसाबले नेता भट्टराईको वरियता पहिलो नम्बरमा हुनेछ ।
जसपाको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने पहिल्यै तय भएको थियो । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । जसपाका नेता हेमराज राईका अनुसार बैठकले पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको समायोजन आगामी मंसिर मसान्तसम्ममा गरिसक्ने निर्णय पनि गरेको छ । जसका लागि कार्यदल गठन गरिएको छ ।
सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिन हिजो नै सरकारले सांसदहरुलाई दिएको दसैं भत्ता सधैंका लागि खारेज गर्न सरकारसँग माग गर्ने र भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो भने कोरोनाको परीक्षण र उपचार संविधानको धारा ३५ अनुसार निःशुल्क गर्नुपर्ने निर्णय गरिएको थियो ।
साथै बैठकले टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ । बैठकले जसपाको केन्द्रिय कार्यकारिणी सदस्यमा रेशम चौधरी,राज कुमार लेखी,गोविन्द चौधरी मनोनीत भएको छ , भने ८०१ जनाको केन्द्रिय सदस्य मध्यमा ३२ जना थारुहरु समेत रहेको जनाएको छ।




















