मिडिया, हामी र सामाजिक सञ्जाल

कलाकार सरोज खनाल कोरोना महामारीका बेला केही दिनअघि अमेरिकी राजदूतावासले आफ्ना अमेरिकी नागरिकहरूका लागि चार्टर गरेको फ्लाइटमा नेपालबाट आफ्ना परिवारजन भेट्न अमेरिका आउँदै गरेका बेला एयरपोर्टमा खिचिएको उनको मास्क लगाएको फोटो पोष्ट गरेर उनलाई केही मान्छेहरूले फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा तथानाम गाली गरे । सरोजलाई बर्साइएका गालीहरू यति निच र तल्लो स्तरका थिए कि यहाँ सबै उल्लेख गर्न मिल्दैन ।

कलाकारितामार्फत नेपालमा स्थापित त्यति राम्रो कलाकारमाथि अपशब्द बर्साउँदा केही मान्छेहरूलाई बहुत आनन्द आयो होला तर मलाई सरोज मेरो बन्धु वा साथी भएरमात्र मन दुखेको कदापि होइन । सरोज नेपालको अभिनय क्षेत्रका निकै नामी मान्छे हुन् । राष्ट्रको गहना हुन् । उनलाई तथानाम गाली र ‘बाहुन काठा’ सम्म भनेर जातीय झटारो हान्दा अलिकति बुझ्न सक्ने क्षमता भएका कुन चाहिँ मान्छेको मन दुख्दैन होला र ?

बीबीसी नेपाली सेवाको प्रमुख, हुँदा खाँदाको राम्रो जागिर र सेवामा छँदा होस् वा छोडेर परोपकारी काममा लाग्दा होस् वा राजनीतिमा होमिँदा होस् रवीन्द्र मिश्रमाथि फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा दुनियाँ आरोप लगाउँदै उनलाई बदनाम गराउन केही मान्छे यसरी लागे, लागिरहेका छन् कि उनको ठाउँमा उस्तै मान्छे भएको भए निराश भएर फेरि लन्डन फर्किन्थ्यो तर उनी बहादुर थिए, छन् र प्रतिवाद गर्दै नेपालमै टिकिरहेका छन् ।

उनलाई फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली गर्नेहरूले उनी दरबारीया, परोपकारका नाममा पैसा उठाएर खाने, अनियमितता गर्नेदेखि सुन्नै नसकिने आरोप बर्साउँछन् । रवीन्द्रले मैले कुनै तलमाथि गरेको भए मेरी आमाको रगत खाएसरह होस्, मलाई पाप लागोस् भन्दै धेरैपटक सार्वजनिक रूपमा चुनौती दिँदै खण्डन गरे, गरिरहेका छन् । उनी आफैँ पत्रकार, प्रखर वक्ता भएकाले उनलाई खण्डन गर्न, ती भ्रम चिर्न गाह्रो छैन । तर, उनको ठाउँमा उनी जस्तै जब्बर नभएका अरू कोही परेका भए जिउँदै सहिद हुन्थे जसरी आमा घरकी आमा दिल शोभा श्रेष्ठ हुनुप¥यो ।

हाम्रो नेपाली समाजका केही उद्दण्डहरू हावाका भरमा, अरे अरेका भरमा एकतर्र्फी धारणा बनाउन र जिना सित्तै अरूलाई बदनाम गराउन माहिर छन् । के रवीन्द्रले गरेको परोपकारी काम होस् वा फोहोरी राजनीति सफा गर्छु भनेर लागेको अभियान होस्, गलत हो र ? तर, गरिखानेको आरिस गर्ने, खुट्टा तान्ने, चरित्र हत्या गर्ने, सिध्याउने यसै गरिन्छ यहाँ । हाम्रो समाजमा केही गर्छु भन्ने धेरैजनालाई जिउँदो सहिद बनाइएको छ । 

अनुराधा कोइराला जस्ती देशकी गौरव जसले बेचबिखनमा परेका चेलीहरू र बालबालिकाहरूको उद्धार र पालन पोषण गरेर समाजसेवा तथा मानवताको उपल्लो परिचय दिइरहेकी छन् त्यस्ती महान् समाजसेवी, महिलालाई बालबालिका बेचबिखन र वेश्यावृत्ति गर्ने आरोप लगाउनसक्ने अपराधी सोचका मान्छेहरू मैले हाम्रो समाजमा देखेको छु । नेपालमा रहँदा र पत्रकारका रूपमा कलम चलाउँदा मैले अनुराधा दिदी र उहाँको समाजसेवालाई समर्थन र सहयोग गर्दा पत्रकारिता क्षेत्रका केही मान्छेहरू नै ममाथि खनिएको विगत पनि मेरो स्मरणमा ताजै छ । 

अमेरिकामा राम्रै गरेर बसिरहेका रवि लामिछानेलाई नेपाल फर्केर केही गरौँ भन्ने लाग्यो । उनी नेपाल फर्के । त्यहाँ रविले जब देश र जनताका लागि केही गर्न थाले उनीमाथि केही कथित पत्रकारहरूदेखि फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा खेदो सुरु भए । उनको पारिवारिक र व्यक्तिगत जीवनलाई लिएर उनीमाथि आक्रमण मात्र भएनन् उनलाई नेपाली हुनबाट वञ्चित गर्नेदेखि अमेरिका फर्काउनेसम्मका अनेक हर्कत भए । 

एउटा मान्छे आफँै झुण्डिएर मर्दा रवि र उनका सहयोगी युवराजमाथि आत्महत्या गर्न बाध्य बनाएको भन्दै राज्यशक्ति नै लागेर फसाउन निकै तानावाना बुनियो तर जनसागरको बल थेग्न नसकेपछि राज्य संयन्त्रहरू रवि र उनका सहयोगी युवराजलाई छोड्न बाध्य भए । उनका समर्थकको समर्थनका बलले मात्र हो नत्र फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा उनको चरित्र हत्या गरेरै उनलाई जेलमा कुहाउने षड्यन्त्र थियो । रविबहादुर थिए भिडे, टिके । उनको ठाउँमा उस्तै कमजोर मान्छे भएको भए के हबिगत हुनेथ्यो होला कल्पना गर्नमात्र सकिन्छ ।

पत्रकार नारायण श्रेष्ठ र प्रेम बानियाँ अमेरिका आए । उनीहरूमाथि पनि कम झटारा हानिएनन् फेसबुक, युट्युब, अनलाइन र ट्विटरमा । उनीहरू दुवैले प्रतिवाद गर्ने क्रम आजसम्म जारी छ । के कारणले अमेरिका आएर यतै भुले होलान् त उनीहरू ? कसैले यो वास्तविकता केलाउन, जरोसम्म जानै चाहेनन्, बरु व्यंग्यवाण हान्नमै समय खर्चिए । माटोलाई माया गर्ने असंख्य नारायण र प्रेमहरू अहिले अमेरिका, क्यानडा, अष्ट्रेलियादेखि युरोप हुँदै खाडीसम्म, अझ भनौँ छिमेकी भारतसम्म भासिन बाध्य छन् । देशको शासन व्यवस्था राम्रो चलेको भए, देशभित्रै रोजगारी, अवसरहरू भएको भए कुन नेपाली विदेश जान्थ्यो र ? किन जान्थ्यो र ? यतिसम्म सोच्न र बुझ्न नसक्नेहरूलाई के भन्ने र खोइ ?

मान्छे मार्ने, अपहरण गर्ने, लुट्ने, कुट्नेलगायत अपराधहरू गर्नेहरूको सधँै विरोध गरेको, लेखेको, बोलेको, उनीहरूको भक्त बन्न नसकेका कारण, केही नेताहरू अनि तिनका चेलाहरूले मलाई २०६४ साल भदौ २२ गते लोकतन्त्र, गणतन्त्र आयो भनेपछि र संयुक्त सरकार बनेपछि समेत अपहरण गरे र बेपत्ता पारे । अपहरण गरेपछि उनीहरूको सर्त थियो माओवादी प्रवेश गर्नुपर्ने, माओवादी काम गर्नुपर्ने, नमाने मारिदिने धम्की दिएर मलाई अपहरणमुक्त गरियो । मलाई लाग्यो यी अपराधीहरूको पछि लागेर हिँड्नु र यिनको पार्टी प्रवेश गर्नुभन्दा बरु म मर्न सक्छु, मृत्यु बरु मलाई सजिलो हुन्छ । 

मानसिक यातनाभोगेपछि वाक्क दिक्क भएको म यो सतीले श्राप गरेको देश रहेछ, गरिखाने मान्छेलाई टिक्न गाह्रो रहेछ भनेर अमेरिका आएँ । अमेरिकामा पनि आफ्नो स्वाभीमान बेचेर होइन आफ्नो योग्यता क्षमता र प्रतिभाको कारण अमेरिकाले संसारका बहुप्रतिभाशाली मान्छेहरूलाई दिने एक्स्ट्रा अर्डिनरी एबिलिटी इबी वान क्याटेगोरीअन्तर्गत ग्रीन कार्ड दियो । म यहाँ छु तर नेपाल आउजाउ गर्छु । मेरो गीत संगीत, साहित्य, पत्रकारिताको क्षेत्रलाई म यहीँबाट पनि नेपाल बसे जत्तिकै योगदान गरिरहेको छु जस्तो लाग्छ तर मलाई आफ्नो बनाउन नपाएकाहरू मेरो खोइरो खन्छन् । बरु मर्छु तर तिनीहरूको मतियार बन्दिनँ भन्नु, लेख्नु, बोल्नु के मेरो गल्ती हो र ?

मन मुटु नेपालमा, ज्यान चाहिँ अमेरिकामा भएको म नेपाल फर्किने र त्यही केही रोजगारमूलक व्यवसाय गर्ने, पत्रकारिता, गीत, संगीत, साहित्य र समाजसेवामा आफ्नो बाँकी समय खर्चिने योजना बनाइरहेको छु तर नेपाल फर्केका साथीहरूको अनुभव सुन्दा निकै कहालीलाग्दो अवस्था छ । साथीहरू जोे अमेरिका छोडेर नेपाल फर्केका छन् उनीहरू भन्छन् यहाँ स्वतन्त्र भएर बाँच्न गाह्रो छ । कुनै न कुनै दलको समर्थक हुनुपर्ने, दास बन्नुपर्ने, आफ्नो स्वाभीमान बेच्नुपर्ने अवस्था छ । केही गर्छु भन्यो खुट्टा तानेर सिध्याउन लागिहाल्छन् । 

अमेरिकामा मात्र अहिले करिब चार लाख नेपालीहरू पुगेको अनुमान छ । नेपालबाहिर संसारका विभिन्न देशमा अनुमान गर्दा नेपालको जनसंख्याको एक तिहाइ अंश अर्थात् करिब एक करोड नेपालीहरू नेपालबाहिर रहेका छन् र तिनै नेपालीहरूले कमाएर पठाएको रेमिट्यान्सले नेपालमा रहेका परिवारजनमात्र होइन सरकार र एउटा राजा हटाएर बनेका हजारौं छोटे पिर्के राजाहरू पालिएको कसैलाई हेक्का छैन । रेमिट्यान्स रोकिए देश नै ठप्प हुन्छ भन्ने थाहा नभएकाहरू विदेशमा बस्ने नेपालीलाई धारे हात लगाएर बस्छन् । 

अझ आश्चर्यको कुरा त नेपालका तिनै दल र नेताहरूको कुशासनले गर्दा रोजीरोटीको लागि आफँै बाहिर विदेशिएका केही नेपालीहरू आफ्नो धरातल बिर्सेर विदेशबाट विदेशमै रहेका नेपालीहरूलाई पनि राजनीतिक आवरणमा तथानाम गाली गलौजसम्म गर्न भ्याउँछन् । देश बाहिरबाट कसैले केही बोली हाले, लेखी हाले, आफ्नो अभिमत जाहेर गरे भने नेपालबाट तँलाई के अधिकार नेपालको बारे बोल्न ? तँ अर्काको देशमा भाँडा माझ्न, चर्र्पी सफा गर्न गएको मान्छे, तँ आफ्नै देशलाई लात हानेर हिँडेको मान्छे, हामी जे गरौँ तँलाई के सरोकार ? भनिहाल्छन् । 

उनीहरूको दिमागमा विदेश जानु भनेको भाँडा माझ्न र चर्र्पी सफा गर्न भन्नेबाहेक केही छिरेकै छैन । यिनीहरू जसले फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा विदेशमा रहेका नेपालीहरूलाई गरेका गाली र भाषा देख्दा लाजमर्दो भएर आउँछ । देश उनीहरूको दाइजो हो, अंशमा आएको सम्पत्ति हो जस्तो गर्छन् । तिनीहरूका बोली, व्यवहार, भाषा हेर्दा लाग्छ उनीहरूलाई नैतिक शिक्षा के हो थाहै छैन । अनुशासन, मर्यादा कुन चराको नाम हो भन्ने बुझेकै छैनन् ।

त्यति मात्र हो र ? विदेशमा बसेका नेपालीहरूलाई फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूमा गाली गर्ने भाषा पनि कस्ता कस्ता ? अश्लील, आमा चकारेका, खाते, झारपात, भिखारी, गुलाम, हिम्मत भए नेपाल आएर देखा । यस्ता मिडिया र सामाजिक सञ्जालहरूका गालीगलौज देख्दा हामी नेपालीहरू अझै १६औँ शताब्दीमै छौं कि भने जस्तो लाग्छ ।

फेसबुक, युट्युब, अनलाइन र ट्विटरहरूलगायत सामाजिक सञ्जाल अहिले सबैको हातमा भएको करामत होला बोल्ने पनि बोलेका छन्, नबोल्ने बोलेका छन् । जातीयताका आधारमा बाउन क्षेत्री जति सबैका दुश्मन हुन्जस्तो गरेर गाली बर्साउनेहरूका भाषा कुरै गरेर साध्य नहुने खालका छन् । अनि तिनै सबै जान्ने सुन्ने, तिनै न्यायाधीश, तिनै नेता, तिनै पत्रकार, तिनै पुलिस । देख्दा लाग्छ हामीहरू न त सुध्रिएकाछौँ, न त सुध्रिने सोचमै छौँ । 

यस्ता सबै कुरा नजिकबाट नियाल्दा लाग्छ हामी नेपालीहरूमा बाँदरे प्रवृत्ति अत्यन्त हावी भएको छ । हरेक राम्रा कुराको पनि दुरुपयोग गरेर हामीले नराम्रो बनाइरहेका छौँ । फेसबुक, युट्युब, अनलाइन, ट्विटरलगायत मिडिया र सामाजिक सञ्जाल हामीहरूको लागि बाँदरका हातमा नरिवल भएका छन् । नैतिकता, मानवता, सत्य, धर्म, कर्म, अनुशासन, कर्तव्य सबै क्षेत्रबाट हामी नेपालीहरू च्यूत हुँदै गइरहेका छौँ । 

यसले गर्दा देश झन् झन् पछि परिरहेको छ । अन्याय, अत्याचार, भ्रष्टाचार बढ्दै गइरहेका छन् । राजनीति पूरै फोहोर भइसकेको छ । नेतालाई मात्र सधँै दोष नदिऊँ, दोषी त हामी हौं जसले उनीहरूलाई नेता बनायौँ, भोट हाल्यौँ, जितायौँ र माथि पठायौँ । हामीजस्ता नेता पनि उस्तै । अब एक पटक हामी सबैले छातीमा हात राखेर सोच्ने कि ?