गुणस्तरहीन स्यानिटाइजर बजारमा छ्याप्छ्याप्ती, आम नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सबैले विश्वास गरिरहेका स्यानिटाइजरसमेत गुणस्तरहीन भेटिएको छ । गुणस्तरहीन भन्ने जानकारी हुँदाहुँदै पनि यसको बजारमा बिक्री वितरण भइरहेको छ । 

कोरोनाबाट बच्न अहिले सर्वसाधारणले अपनाइएको वस्तुमा स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण –पिपिई) लगायतका स्वास्थ्य सामग्री छन् । यस्ता सामग्री यतिबेला हामी ढुक्कसँग प्रयोग गरिरहेका छौं, र भन्छौं म त सुरक्षित छु । यदि यी सामग्री नै गुणस्तरहीन भए भने के होला ? तर, यही मौका हो भन्दै कहरको बेलामा पनि लुट्न पल्केकाहरूले गुणस्तरहीन सामग्री बजारमा बेचिरहेको भेटिएको छ । 

यस्ता सामग्री गुणस्तरयुक्त भन्दै कुन–कुन मापदण्डको आधारमा बजारमा पुगेका हुन् यो अहिले सर्वत्र चासोको विषय बनेको छ । गुणस्तरहीन यस्ता सामग्री बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । कोरोना संक्रमणको रोकथामका लागि सबैभन्दा बढी प्रयोग हुने हृयाण्ड स्यानिटाइजरको जथाभावी रूपमा बिक्री वितरण हुने क्रम बढेको छ । यस्ता स्वास्थ्य सामग्रीलाई व्यापारको साधन बनाएर महँगो मूल्य लिने र गुणस्तरहीन सामग्री वितरण गर्ने क्रम बढेको छ । 

कोभिड–१९ को जोखिमका समयमा उपभोक्ताको जीवनसँग खेलबाड गर्दै निर्धारित गरेको मापदण्ड विपरीतको नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएको हो । गुणस्तरहीन सामान बजारमा देखिएका बेला समस्यालाई नाफा कमाउने अवसर ठानी मूल्यमा कालोबजारी हुने पनि गरेको छ ।

नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराएको छ । यसमा भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स हृयाण्ड एण्ड सूर्यमुखी नामका स्यानिटाइजर रहेका छन् । यस्ता स्यानिटाइजर भारत र चीनबाट कम मूल्यमा ठूलो बट्टामा ल्याइन्छ र नेपालमै साना बट्टाहरूमा भरी कम्पनीको लोगो राखेर बिक्री वितरण गरिन्छ । यस्तो काममा सबैभन्दा अगाडि पामाकियर नै देखिएको छ । यो कम्पनी यसअघि पनि यस्तै सामग्री बेचेर विवादमा परिसकेको छ । 

औषधि व्यवस्था विभागका अनुसार यी कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागिसमेत गम्भीर हानिकारक छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

यस्ता सामग्री बजारमा छ्याप्छ्याप्ती भेटिन थालेपछि औषधि व्यवस्था विभागले त्यसमा चासो व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी चलिरहेको बेलामा बजारमा गुणस्तरहीन स्यानिटाइजरको प्रयोग बढेको भन्दै सूचना जारी गर्दै विभागले चासो व्यक्त गरेको हो । बजारमा बिक्री भइरहेको हृयाण्ड स्यानिटाइजरमा विभागले तोकेको मापदण्ड पूरा नगरेको पाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल हुनुपर्ने विभागको मापदण्डमा उल्लेख छ । तर, केही कम्पनीका स्यानिटाइजरमा यस्तो नपाएपछि उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

बजारमा स्यानिटाइजर उत्पादक सबै कम्पनीहरूको उत्पादन प्रक्रियादेखि नै सूक्ष्म निगरानी आवश्यक देखिन्छ । जथाभावी उत्पादन गरेर बजारमा ल्याउँदा उत्पादकलाई त फाइदा होला तर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ, त्यसैले यसलाई गम्भीर दण्डनीय अपराधका रूपमा लिइनुपर्छ । सरकारले गत चैत ९ गते नै स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनाएको थियो । तर, त्यसबमोजिम बजार अनुगमन भने हुन नसक्दा आम नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । 

स्यानिटाइजरको प्रयोग बढाउनुपर्ने आवश्यकता भए पनि गुणस्तरहीन उत्पादनले यसमाथिको विश्वसनियता नै संकटमा पारेको छ । आम जनताको स्वास्थ्यमाथि यस्तो लापरबाही तरिकाले ठगीधन्दा गर्नेविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्ने उपभोक्तावादीहरू बताउँछन् । यसलाई गम्भीर दण्डनीय अपराधका रूपमा लिइनु आवश्यक छ ।