जग्गा कारोबारमा आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय – मन्त्री अर्याल

काठमाडौं । संसदीय समितिले भू—उपयोग ऐन २०७६ कार्यान्वयन नहुँदसम्म कित्ताकाट खुला गर्ने सम्बन्धि कुनै पनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । 

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन गर्दासम्म कित्ताकाट सम्बन्धि कुनै पनि निर्णय कार्यान्वनयन गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति रामनारायण विडारीले कित्ताकाट सम्बन्धि कुनै पनि द्वविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा नगर्नु भन्नुभयो ।

मन्त्री पद्मा अर्याललाई छलफलका लागि बोलाइएको बैठकका निर्णयहरु सुनाउँदै उहाँले भन्नुभयो, ‘‘भू—उपयोग सम्बन्धि ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्ड इत्यादी कार्यान्वयन हुन सक्दैनन । तसर्थ यो बैठकले नियमावली तुरुन्तै बनाएर भू उपयोग ऐन २०७६ लाई अबिलम्ब कार्यान्वयन गरोस । द्वविधायुक्त कुराहरु परिपत्रका माध्यमबाट नगरियोस । द्वविधायुक्त कुरा परिपत्र, विज्ञप्तीका माध्यमबाट, टिप्पणी र आदेशको माध्यमबाट नगरियोस ।’’

नियमावली नबनाई कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेपछि समितिले मन्त्री अर्याललाई बोलाएर छलफल गरेको हो । छलफलमा मन्त्री अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेललाई रोक्न कित्ताकाट फुकुवा गर्नुपरेको बताउनुभएको थियो । सरकारको निर्णय पनि अहिले सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । मुद्दा विचाराधिन रहेकाले तत्काल निर्णय कार्यान्वयन हुन सकेको छैन ।