टोकियो ( जापान );= जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरूलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।कोरोनाको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरूबाट आउन दिने योजना बनाएको हो।
जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन्।
सरकारले अत्यावश्यक काम परेका र आउनैपर्ने अवस्थामा रहेकाहरूलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरूबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ।
जापान आउनुअघि यात्रुहरूले कोरोना भाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरूलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यो नियमको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई ‘स्पोन्सर’ गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने सर्त पनि राखिएको छ । सुरुमा दैनिक एक हजारजना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या बिस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरूले जनाएका छन्।




















