लण्डन:= सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन् । ‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भने।
शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए।
सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताए ।
‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उनले भने । विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आर्इसीयू बेड पाउन नसकिने अवस्था आइलागेको बताए । ‘अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आईसीयू बेड पाउनेवाला छैनन्,’ उनले भने, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ।’
उनले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसक्ने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे।
पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताइन् । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका कामै हुन नसकेको उल्लेख गर्दै डा शर्माले सरकारले सही कदम चाल्न नसकेको बताइन् । ‘यस्ता महामारी निन्त्रणको नेतृत्व चिकित्सक, विज्ञले नै गर्नुपर्छ,’ उनले भनिन्।
कोभिड–१९ महामारीका कारण मानसिक स्वास्थ्य, खाद्य असुरक्षा र नवजात शिशुको स्वास्थ्य समस्या झनझन जटिल बन्दै गएको उनले बताइन् । डा शर्माले अब कोभिड–१९ का संक्रमित झन बढ्नसक्ने चेतावनी दिइन् । ‘दसैंको मौका छ। यसमा मान्छे हिँड्ने काम भएकाले फेरि फैलने सक्ने देखिएको छ,’ उनले भनिन्, ‘जाडोमा खुला ठाउँमा कम बस्ने, खोकी लाग्ने भएकाले यो बेला कोभिड—१९ को संक्रमण्ण अझ बढ्न सक्छ। यसमा हेलचेक्राइ गर्नु हुँदैन।’
एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए । नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्ताबेज बनाएर काम भइरहेको बताए।
२ सय ९७ मा २१ सयभन्दा बढी स्वंयसेवक परिचालन गरेर नेपालीलाई सहयोग पुर्याइएको उल्लेख गर्दै उनले भने, ‘ हामीसँग ठूलो नेटवर्क छ,। आईएलओ र आईओएम लगायत अन्तर राष्ट्रिय संघसंस्थासँग सहकार्य गरेर काम गरिरहेको छौं।’ एनआरएनएले विपद् र महामारी नियन्त्रणका लागि दस लाख डलरको फन्ड बनाइरहेको उनले घोषणा गरे।source : Barhakhari




















