इन्डोनेसियामा श्रम कानुनको विरोध गर्दै विशाल प्रदर्शन , हेर्नुस् केहि तस्बिर सहित।

एजेन्सी ( इन्डोनेसिया ):= इन्डोनेसियामा हजारौँ मानिस यहाँको सरकारले ल्याएको श्रम सम्बन्धी नयाँ कानुनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन्।

उनीहरु लगातार तेस्रो दिन बिहीबार पनि प्रदर्शनमा उत्रिएका थिए । प्रहरीसँग झडपको क्रममा ६ सय प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँ कानुन आम मानिसको रोजगार सुरक्षा र वातावरणीय सन्तुलनको विरुद्धमा भएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

सरकारले भने लगानीलाई प्रोत्साहित गर्न र खस्कँदो अर्थ व्यवस्था सुधार्न नयाँ कानुन आवस्यक पर्ने जनाएको छ । लगातार तीन दिनयता सरकारको विरोध गर्दै इन्डोनेसियाका ठूला सहरमा हजारौँ युवा र विद्यार्थीहरु आन्दोलित बनेका हुन्।

प्रहरीले भने प्रदर्शन दबाउन टियर ग्यास प्रहार गर्नुका साथै पानीका फोहोरा फालेको थियो । यस क्रममा केही विद्यार्थीहरु घाइते भएका थिए । स्थानीय मिडियाका अनुसार राजधानी जकार्तास्थित प्रदर्शनकारीको विशाल जुलुस संसद भवनतर्फ जाँदै थियो।

सरकारले हालै ल्याएको नयाँ कानुनले प्रशासनिक क्षमता विकासका लागि अरु ७९ वटा कानुन परिवर्तन गर्नसक्छ । तर यसले श्रम व्यवस्थामा यसले असर पर्ने भन्दै आम नागरिक आन्दोलित बनेका हुन् । यसले श्रमिकले पाउने नियमित ज्याला लगायतमा असर पर्ने बताइन्छ।