नेपाली कम्युनिस्ट नेता कार्यकर्ताले अब अमेरिकाको ग्रीनकार्ड र नागरिकता नपाउने।

काठमाडौं := नेपाली कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको पोलिसी अलर्टमा यस्तो व्यवस्था गरिएको छ।

अक्टोबर २ मा जारी गरिएको पोलिसी अलर्टअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट पार्टीका भातृ संगठनहरुका सदस्यले पनि अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् । अहिले पोलिसी अलर्ट आएपनि यो नियम अमेरिकाको नौलो नियम भने होइन । अमेरिकी नियमअनुसार कुनै पनि कम्युनिष्ट पार्टीको सक्रिय सदस्य अमेरिकामा स्थायी बसोबासका लागि योग्य मानिदैन।

पोलिसी अलर्टमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था गरेको छ । अमेरिकी कंग्रेसले देशको सुरक्षाको लागि यो  नीति पारित गरेको बताइएको छ । यो नीति अमेरिका र चीनबीच बढिरहेको तनावका कारण ल्याइएको विश्वास गरिएको छ।

यो  नीतिले चीनमात्र नभइ नेपालसहितका कैयौं देशका कम्युनिष्ट पार्टीसँग आबद्ध व्यक्तिहरु अमेरिकाका लागि अस्वीकार्य हुनेछन् । अहिले कम्युनिष्ट पार्टीका सक्रिय सदस्य भएका मात्र नभइ विगतमा कम्युनिस्ट पार्टीमा आबद्ध रहेकाहरु पनि यो कनुनअनुसार अमेरिकामा स्थायी बसोवास पाउनका लागि अयोग्य हुनेछन् । यसअघि नै अमेरिकामा स्थायी बसोवास अनुमति पाइसकेकाहरुको हकमा भने नीतिमा केही उल्लेख छैन।