काठमाडौँ:= केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई एउटा फोन आयो । असार १४ गते फोन गर्नेले भने, ‘एउटा ब्याड न्यूज छ।’ सो कल नेपाल राष्ट्र बैङ्कका फाइनान्सियल इन्भेष्टिगेशन युनिटका प्रमुखले गरेका थिए।
राष्ट्र बैङ्कका ती अधिकृतले थापालाई भने, ‘श्रीमान्लाई अपहरणमुक्त गराउन एक महिला हिमालय बैङ्कको दाङको घोराही शाखामा १२ लाख डिपोजिट गर्न गएकी छिन्।’
अपहरण, अनि फिरौतीका लागि १२ लाख ! डीआईजी थापाका लागि सो सूचना साँच्चै ‘ब्याड’ थियो । थापाले तत्काल ब्यूरोका अधिकृतहरुलाई घटनाको अनुसन्धान थाल्न निर्देशन गरे।
१० लाख बढी पैसा झिक्दा र डिपोजिट गर्दा बैंकले स्रोत खोज्ने हुनाले सो तथ्य खुलेको थियो । बैङ्कका कर्मचारीले रकम डिपोजिट गर्नुको कारण सोध्दा ती महिलाले भनिन्, ‘मलेसियामा श्रीमानलाई ६ दिनदेखि बन्धक बनाएको छ, अपहरण गर्नेले फिरौती रकम पाए छाड्छु भन्छ।’

दाङका मोहम्मद रैदासलाई मलेसियामा उनकै मालिक दुर्गाबहादुर श्रेष्ठ उर्फ डेभिडले बन्धक बनाएका थिए । ‘१२ लाख नबुझाए रैदासलाई मारिदिन्छु’ भनेर डेभिडको नाममा पैसा डिपोजिट गर्दिनु भनेपछि ती महिला ऋण खोजेर बैकमा गएकी थिइन्।
हिमालयन बैंकको घोराही शाखाले काठमाडौँस्थित मुख्य कार्यालयमा जानकारी गराएपछि घटना सीआईबीसम्म पुगेको हो । ‘राष्ट्र बैङ्क हुँदै मलाई खबर आयो,’ डीआईजी थापाले भने, ‘हिमालयन बैङ्कमार्फत पीडितको नाम, ठेगाना पत्ता लगाएर अनुसन्धान अघि बढायौँ।’
रैदासकी पत्नीलाई घटना प्रहरीमा पुगेको थाहै थिएन । आत्तिनसक्ने भएकाले ती महिलासँग थप बुझ्न प्रहरीले एनजिओ, आइएनजिओको प्रतिनिधी बनेर सम्पर्क गरेको थियो । पछि, ती महिला कन्भिन्स भइन्
‘गम्भीर अपराधको सुराक पाएको हुनाले हामी पहिले एक्सपोज भएनौँ,’ डीआईजी थापाले भने, ‘विस्तारै ती महिलालाई हामीले फोनमार्फत नै प्रहरी हो भन्यौँ।’ ब्यूरोको आग्रहपछि उनले डेभिडविरुद्ध ‘अपहरण र शरीर बन्धक’ कसुरमा जाहेरी दिइन् । लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा ती महिलाले दुर्गाबहादुर श्रेष्ठ भनिने ‘डेभिड’ विरुद्ध जाहेरी दिएकी हुन् । श्रीमानको सल्लाहमा उनले जाहेरी दिएको डीआइजी थापाले बताए।

रैदास मलेसियामा डेभिडको कम्पनीमा काम गर्थे । डेभिड मलेसियामा बसेर गुण्डागर्दी गर्छन् । मलेसियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले त्यहाँ रहेका नेपाली युवाहरुलाई कुटपिट गरेर बन्धक बनाउने गरेको ‘रैदास प्रकरण’बाट थाहा भएको छ । डेभिडले मलेसियामा दुःख दिएका १० जना पीडित प्रहरीको सम्पर्कमा पुगेका छन्।
रैदासलाई बन्धक बनाएको जाहेरी परेका बेला दुर्गाबहादुर श्रेष्ठ उर्फ डेभिड पनि नेपाल आएका थिए । रैदास पत्नीले जम्मा गरिदिएको फिरौती बापतको रकम उनले नेपालमा आएर निकाले । प्रहरी उनको खोजीमा थियो। काठमाडौँ महानगरपालिका–३ कान्तीबाल नजिकै बा १४ च २११२ नम्बरको गाडीमा वाँसबारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा ब्यूरोले उनलाई पक्राउ गरेको छ । अहिले उनी हिरासतमा छन्।
रैदासलाई फर्काइँदै :

डेभिडले मलेसियामा काम गर्न गएका सोझा नेपाली कामदारहरुलाई धम्क्याएर रकम असुल गर्ने तथा कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
मोहम्मद रैदासको पासपोर्ट समेत श्रेष्ठको श्रीमती धनमाया श्रेष्ठले खोसेर राखिदिएकी छन् । पासपोर्टविहीन रैदासलाई दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काउने तयारी भइरहेको डीआईजी थापाले बताए । सम्भवतः रैदास बुधबार नेपाल आउँछन्।
५ वर्षदेखि मलेसियामा श्रम बगाइरहेका रैदासलाई डेभिडले कम्पनीको पैसा चोरेको चार्ज लगाएर चालकको कोठामा थुनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
बन्धक बनाएर रैदास पत्निसँग ६० हजार रिंगेट अर्थात १७ लाख २८ हजार नेपाली रुपैयाँ फिरौती मागे । ६ दिनसम्म बन्द कोठामा बसेर निस्केपछि घटना बाहिरियो । त्यहाँ रैदासलाई बिहान बेलुकाको खाना मात्र दिइन्थ्यो।
रैदास पत्नीले उनलाई मुक्त गराउन दुई पटक गरेर १५ लाख रुपैयाँ बैङ्क खातामा डिपोजिट गरेको प्रहरीलाई बताएका छिन्।
डेभिडलाई जिल्ला अदालत काठमाडौँबाट दोस्रोपटक ५ दिनको म्याद थप गरिएको छ । अदालतले पहिलोपटक उनलाई अनुसन्धान गर्न ३ दिनको म्याद दिएको थियो । मलेसियामा पनि उनी पटक–पटक थुनिने गरेका थिए। डेभिड २२ वर्षदेखि मलेसियामा बस्दै आएका छन्।source:Ratopati.Com




















