डडेल्धुरा बागबजार कीर्तिपुर सडक चौडा टेन्डर दोस्रो पटक पनि रद्द

डडेल्धुरा । भीमदत्त राजमार्गको  डडेल्धुरा सदरमुकाम बागबजार देखि कीर्तिपुर सम्मको सडक खण्ड बिस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिको  छ ।

डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजार देखि कीर्तिपुर सम्म राजमार्गको दायाँ बायाँ १५र१५ मिटर फराकिलो गर्नका लागि ४४ करोड बजेट विनियोजित गर्दै पहिलो पटक जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो । मुआब्जा सम्बन्धि बिबादका कारण उक्त बोलपत्र गत भदौ ३ गते स्थगित गरेको थियो पहिलो पटक स्थगित गरिएको टेण्डर पुनः आह्वान गरिए पनि आईतबार फेरि प्राविधिक कारण देखाउदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको छ । 

प्राविधिक कारणले दोश्रो पटक आह्वान गरिएको बोलपत्र स्थगित गरिएको डिभिजन सडक कार्यालय कुलपातेका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनु भएको छ ।

महाकाली राजमार्ग अन्र्तगत बागबजार कृर्तिपुरक्षेत्र सम्मको सडक विस्तारका लागि अमरगढी नगरपालिकाको सिफारिसमा डिभिजन सडक कार्यालय कुलपातेले दोश्रो पटक सडक विस्तारका लागि बोलपत्र आह्वान गरेको थियो तर सडक विस्तार गर्ने कार्यमा श्रृखलाबद्ध रुपमा मुद्धा दर्ता गर्ने कार्य भएपछि कुलपातेले प्राविधिक कारण देखाउदै आईतबार बोलपत्र रद्ध गरेको बुझिएको छ ।

मुआब्जाको माग गर्दै आएका अमरगढी नगरपालिका ५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सडक विस्तार गर्दा अदालतको फैसला विपरित सडक क्षेत्रका घरजग्गा धनीहरुलाई मुआब्जा नदिई सडक विस्तार गर्न थालिएको र अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन गर्दा गराएनु भएको थियो । सोही निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायधिस मनोजकुमार शर्माको एकल इजलासले आईतबार सर्वोच्च अदालले अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्की लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सदरमुकाम क्षेत्रको सडक विस्तार गर्नका लागि अमरगढी नगरपालिकाले सडकको क्षेत्राधिकाभित्र पर्ने जमिनको नापजाँच गर्न गत भदौ २४ गतेदेखि प्राविधिक टोली खटाएर काम थालेको र स्थानीय केही व्यक्तिहरुले अवरोध पुर्याए पछि सो कार्य पनि अगाडी बढ्न सकेन ।

सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा सदरमुकामलाई विस्तार गर्नु जरुरी रहेको अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताउनु भयो । उहाँले भन्नुयो–सडक विस्तार कार्यलाई अवरोध पुर्याउनकै लागि केही व्यक्तिहरुले अदालतमा मुद्दा दर्ता गराएका हुन्, सडक विस्तारका लागि आएको ४४ करोड रुपिँया फ्रिज जानुले डडेल्धुराको विकासमा ठूलो प्रभाव पर्ने देखिन्छ । विकास निर्माणको काम अगाडी बढाउँदा पटक पटक अदालतमा मुद्दा हालेर रोक्ने काम हुनु अमरगढी वासीका लागि दुखद कुरा हो । हामीले सर्वोच्चको मानहानी होईन अमरगढी नगरपालिकाको विकास गर्न खोजेका थियौ तर केही व्यक्तिका अवरोधका कारण सडक विस्तार कार्य प्रभावित भएको छ ।