तत्काल फिल्महल खोल्नु हुँदैनः हमाल

काठमाडौं । पछिल्लो ६ महिना कोरोना (कोभिड १९) भाइरसको महामारीले नेपाली चलचित्र (फिल्म) क्षेत्रमा ठूलो असर पारेको छ । छायांकन भएर प्रदर्शनका लागि तयार भएका चलचित्रहरू रोकिएका छन् । छायांकनको तयारी अवस्थामा रहेका चलचित्र अन्यौलमा छन् ।

यसैबीच केही चलचित्रकर्मीहरू भने फिल्महल खोल्नुपर्छ भन्दै सरकार समक्ष आग्रह गरिरहेको देखिन्छ । झण्डै ३० हजार चलचित्रकर्मीहरू बेरोजगार भएको र केही चलचित्रकर्मीको जिवीकोपार्जनमै समस्या भएकाले फिल्म छायांकनको अनुमति तथा फिल्म हल खोल्ने अनुमति दिनुपर्ने माग राखिरहनु भएको छ ।

यसैबीच चलचित्रक्षेत्रका महानायक राजेश हमालले भने तत्काल फिल्महल खोल्न नहुने तर्क दिनुभएको छ । अझै पनि नेपालमा कोरोना भाइरसको महामारी दिनप्रतिदिन फैलिरहेकाले केही समय फिल्म हल नखोल्नु नै उचित हुने उहाँको धारणा छ । ‘कतिपयको यतिका समय भयो हल खोल्नुपर्छ भन्ने धारणा छ तर हामीहरू होसियारी हुनुपर्छ, हामीले अहिलेको परिवेशलाई बुझ्नुपर्छ । हामी ठप्प भएर केही कामै नगर्ने भनेको होइन तर सतर्कता अपनाएर काम गर्नुपर्छ’, हमालले हिमालय टाइम्स्सँग भन्नुभयो, ‘फिल्म हल खोलिहाल्दा भोलि केही समस्या आयो भने के गर्ने सोच्नुप¥यो ।’

अभिनेता हमालले केही समयपछि भने फिल्महलमा सतर्कता अपनाएर खोल्नुपर्ने बताउनुभयो । ‘वातावरण सहज नभएसम्म तत्काल फिल्म हल खोलिहाल्नु हुन्नजस्तो लाग्छ । सार्वजनिक यातायातहरू ठप्प थिए अहिले सञ्चालनमा आएका छन्, त्यस्तै फिल्महल केही समय हेरेर परिस्थिति सहज भएपछि सतर्कताकासाथ खोल्दा राम्रो होला’, हमालले भन्नुभयो, ‘सबै क्षेत्र खुलिसकेपछि अन्तिममा खुल्ने क्षेत्र हो फिल्मी क्षेत्र ।

अभिनेता हमालले पछिल्लो समय कोरोना भाइरसका कारण दर्शकले चलचित्र हेर्न नपाएकाले आफूले म्युजिक भिडियोमा काम गर्न थालेको बताउनु भएको छ । आइतबार इन्द्रजित मिहारको स्वरमा रहेको एक गीतको छायांकन सक्नुभएको अभिनेता हमालले लकडाउन भरी आफूलाई १२ वटा म्युजिक भिडियोको अफर आएको बताउनुभयो । ‘अहिले चलचित्र नभएका बेला दर्शकका लागि केही म्युजिक भिडियो गरौं कि भन्ने लागेको छ । आज एक भिडियोको सुटिङ गरियो । केही दिनपछि अर्को पनि गर्दैछु’, अभिनेता हमालले भन्नुभयो, ‘गीत हेरेर केही समयको ग्यापमा म्युजिक भिडियोहरू गर्नुपर्छ भन्ने लागेको छ ।’ 

यस्तै अभिनेता हमालले कोरोना भाइरसको माहामारी केही सहज भएपछि आफूले चलचित्र बनाउने बताउनुभयो । उहाँले आफैंको निर्देशन र अभिनय रहने चलचित्र दर्शकमाफ छिट्टै ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘मेरै निर्देशनमा एक चलचित्र आउनेछ, अहिले भित्री कामहरू भइरहेको छ । माहामारी सकिएपछि जहाँसम्म दर्शकले हेर्न पाउनुहुनेछ ।’

आइतबार छायांकन भएको गीतमा गोपाल लोहारको शब्द, सुरेश अधिकारीको संगीत छ भने भिडियोमा नवकलाकार आग्या खतिवडाले अभिनय गर्नुभएको छ । काजी लिम्बूले निर्देशन गर्नुभएको भिडियो श्याम तामाङले खिच्नुभएको छ । उक्त ‘जुनमा हेरूँ तिमीलाई’ बोलको आधुनिक गीत आउँदै गरेको वडा दशैँको छेको पारेर सार्वजनिक गरिने भिडियोका निर्देशक लिम्बूले जानकारी दिनुभएको छ ।