इलामको माबुमा जमिन भासिएपछि स्थानीय त्रसित

इलाम । इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम सुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो झर्न सुरु भएपछि माबुमा रहेको पञ्चकन्या माइ हाइड्रोपावरको सर्च टेंक र करिब चार सय मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको छ । तीन महिना अगाडिदेखि गाउँ पहिरोले लैजाने गरी जमिन भासिने क्रम सुुरु भएपछि इलामको माबुमा जोखिम बढेको छ । 

माबु माइमझुवा जोड्ने पर्यटकीय सडक र इलाम सन्दकपुर जोड्ने सडक पहिरो भासिन थालेपछि अवरुद्ध छ । अनुमाया गुरुङ, कोल बहादुर गुरुङ, भीमदल गुरुङ, प्रवीण गुरुङको चार घर पहिरोमा भासिन थालेका छन् । पहिरोका कारण आफूहरू समस्यामा परेको पीडित मौसमी गुरुङको भनाइ छ । पहिरोका कारण घरमा बस्न सक्ने अवस्था नभएकाले आफूहरूलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्नु गरिदिनुपर्ने उहाँको भनाइ छ । 

माबुमा रहेको पञ्चकन्या माइ हाइड्रोपावरको सर्च टं्याकी र सुरुङमार्गको आउटलेटदेखि करिब चार सय मिटरको भाग पहिरोको उच्च जोखिममा परेको छ । १४ घर परिवारको दुई सय पाँच रोपनी जमिन पहिरोमा परेको छ । पहिरोले स्थानीय विद्युत् वितरण लाइन पनि जोखिममा पारेको छ भने स्थानीयहरू त्रासमा बस्न बाध्य बनेका छन् । 

जमिन नै चिरा–चिरा भासिएर पहिरो जाने क्रम सुरु भएपछि जोखिम निम्तिएको भन्दै स्थानीयले पञ्चकन्या मार्ई हाइड्रोपावरको पानी बन्द गरेका छन् । विद्युत् विपद् संघर्ष समिति बनाएर जलविद्युत् कम्पनीलाई जोखिम कम गर्न आग्रह गरिएको विद्युत् विपद् संघर्ष समिति संयोजक माबुका कमल गुरुङले बताउनुभयो । ‘यो सुरुङका कारण सडक समेत अवरुद्ध बन्न पुगेको छ त्यसैले जतिसक्दो चाँडो निकास निकाल्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

उता जलविद्युत्को सुरुङ निर्माणपछि पानी चुहिएर जमिन भासिएको स्थानीयको भनाइ छ । जलविद्युत् कम्पनीले भुगर्भविद् सहितको टोलीले जोखिम क्षेत्रको अध्ययन गरेको थियो । यसको प्रतिवेदन सार्वजनिक भएको छैन । जमिन भासिने र पहिरो नरोकिएमा माइखोला थुनिन सक्ने थप जोखिम बढेको छ । पञ्चकन्या हाइड्रो पावर कम्पनीले सुरूङ मार्गको व्यस्थापनमा चासो नदिँदा थप जोखिम बढ्दै गएको स्थानीयहरूको बुझाइ छ । स्थानीय विद्युत् विपद् सरोकार समितिले सुरूङसँगै व्यवस्थापनमा चासो नदेखाउँदा जोखिम बढ्दै गएको जनाएको छ । सम्बन्धित पक्षबाट रोकथामको काम नभएको बताउँदै व्यवस्थापनका विषयमा कुनै पनि सूचना नआएको प्रभावित क्षेत्रका स्थानीय ढालबहादुर गुरूङले बताउनुभयो । उहाँका अनुसार सुरूङ मार्गको तल्लो क्षेत्रमा पहिरो गइरहेको छ । केही क्षेत्रमा ढिस्को झरेको छ । थप जमिन समेत भासिएकाले जोखिम बढ्दै गएको छ । जोखिम क्षेत्रका स्थानीयवासीले कतिखेर के हुने हो भन्ने त्रासमा दिन कटाइरहेको गुरूङले बताउनुभयो । पेनस्टक पाइप केही भएर फुट्यो भने जति खेर पनि ठूलो धनजनको क्षति हुने बताउँदैै चाँडै मर्मत गर्न स्थानीयले आग्रह गरेका छन् ।