डडेल्धुरामा कालोबजारी बढ्दै, अनुगमन शून्य

डडेल्धुरा । कोरोना भाइरस महामारीको सुरुवाती चरणमा गत चैत महिनाको पहिलो साता डडेल्धुरा सदरमुकाममा कालोबजारी बढेको गुनासो बढेपछि बजार अनुगमन सुरू गरिएको थियो । बजार अनुगमन कार्य चलिरहँदा विवाद उत्पन्न भएपछि अनुगमन कार्य बिचमै रोकियो । अनुगमन टोली र उद्योग वाणिज्य संघ डडेल्धुरबीच उत्पन्न विवादका कारण अवरुद्ध बजार अनुगमन अझै सुरु हुन सकेको छैन । 

डडेल्धुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसहितको टोली बजार अनुगमनका लागि निस्किए पनि डडेल्धुरा उद्योग वाणिज्य संघले अमरगढी नगरपालिकाले व्यापारीहरूलाई दुःख दिने नियतले बजार अनुगमन गरेको आरोप लगाएको थियो । व्यवसायी र अनुगमनकर्ताबीच ‘भनाभन’को अवस्था नै सिर्जना हुँदा बजार अनुगमन कार्य बीचमै स्थगित गरिएको हो । 

बजार अनुगमनको पाटो मात्र नभई केही व्यवसायीहरूले अव्यवस्थित रुपमा फुटपाथमा सामान राखेको, सडकमै सवारी साधन पार्किङ गरेको र खोका छाप्रा निर्माण तथा घरको माथिल्लो तलामा उक्लिन बनाइएको सिँढीका बिषयमा अनुगमनकर्ताहरूले कुरा उठाएपछि विवाद उत्पन्न भएको हो । व्यवसायीहरूको तीव्र विरोधका कारण बजार अनुगमन रोकिएपछि अमरगढी नगरपालिका, डडेल्धुरा उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराबीच केही दिन जुहारी चल्न थाल्यो । विवाद साम्य भएपछि बजार अनुगमन गरिने भनिए पनि हालसम्म बजार अनुगमन हुन सकेको छैन । 

बजार अनुगमन कार्य अवरुद्ध भएपछि नेपालीहरूका महान् पर्व दशैं र तिहार नजिकिँएको समयमा सदरमुकामलगायत जिल्लाका बिभिन्न बजारहरूमा कालोबजारी बढ्दै गएको उपभोक्ताहरूको गुनासो छ । 

अनुगमन गर्ने निकायहरूबीच विवाद सिर्जना भएपछि बजार अनुगमन हुने छाँटकाँट नदेखिएकाले बजारमा कालोबजारी मौलाएको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताउनुभयो । 

कालोबजारी मौलाएसँगै स्थानीय बजारहरूमा गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री दिन प्रतिदिन बढेको गुनासो बढ्न थाले पनि सम्बन्धित निकाय मौन बसेकोले उपभोक्ताहरू प्रताडित भइरहेको डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले बताउनुभयो । बजारमा महँगी, कालोबजारी भइरहँदा समेत अझै विवाद सिर्जना हुने पो हो कि ? भन्ने आशंकाले सम्बन्धित निकायले बजार अनुगमन नगरेको स्थानीय बताउँछन् । 

चाडपर्व नजिकिएसँगै व्यापारीहरूले म्याद नाघेका खाद्यवस्तु बिक्री वितरण गरिरहेको र अर्कोतिर कालोबजारी मौलाएको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको स्थानीय राधा पालले गुनासो गर्नुभयो । उहाँले लकडाउनमा बिक्री नभएर खाद्य सामाग्रीहरूको म्याद समाप्त भइसकेको भए पनि व्यवसायीहरूले मौकाको फाइदा उठाएर बिक्री गरिरहेको आरोप लगाउनुभयो । 

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘हिल स्टेशन’का रूपमा चिनिने डडेलधुरा सदरमुकाममा विभिन्न कम्पनीका ठूलाठूला डिलरहरू छन् । ती डिलरबाट सुदूरका पहाडी जिल्लाहरूका साथै डडेल्धुराका सात स्थानीय तहमा मालसामान पठाउने गरिन्छ । हालसम्म बजार अनुगमन नहुँदा एकातिर सर्वसाधारण मारमा परेका छन् भने अर्कोतिर चर्को मूल्यमा सामग्री किन्नुपर्ने बाध्यता छ । 

म्याद नाघेका बजारमा बिक्री नहुने सामग्री कम मूल्यमा भए पनि बिक्री गरिरहेको स्वयम् व्यवसायीहरू स्वीकार्दछन् । ग्रामीण क्षेत्रमा म्याद नाघेका सामाग्रीहरूका बारेमा उपभोक्ताहरूले चासो नराख्ने गरेकाले म्याद नाघेका सामाग्रीहरू खुलेयाम बिक्री हुने गरेको जिल्लाको सिमान्त रुपाल क्षेत्रका बासिन्दा महेन्द्र ठकुराठीले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपभोक्ता हित संरक्षणसम्बन्धी २१ दायित्व स्थानीय तहले पूरा गर्नुपर्ने तोकेको छ । नियमित बजार अनुगमनलगायत स्वच्छता र स्वास्थ्यसम्बन्धी विषयमा विशेष जोड दिएको छ । ऐनले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको भए पनि जिल्लाका स्थानीय तहमा बजार अनुगमन समितिहरू भने निष्क्रिय छन् । कतिपय स्थानीय तहमा बजार अनुगमन समिति समेत गठन हुन सकेको छैन । 

अनुगमन समिति गठन र कार्यविधि निर्माण नहुँदा अनुगमन गर्न नसकिएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । सदरमुकामस्थित अमरगढी नगरपालिकाले बजार अनुगमन चाँडै गर्ने जनाएकोे छ । बजार अनुगमन गर्दा विवाद सिर्जना भएकाले निरन्तर रूपमा बजार अनुगमन गर्न नसकेको अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता भण्डारीले बताउनुभयो । ‘स्थानीय प्रशासनको संलग्नता रहँदा पनि बजार अनुगमन कार्यको विरोध भयो । अब सबैलाई मिलाएर बजार अनुगमन गर्छौ,’ उहाँले भन्नुभयो, ‘बजार अनुगमनका लागि समिति गठन र कार्यविधि निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो । 

उपभोक्ताको हितका लागि दशैं तिहारलाई लक्षित गरी बजार अनुगमन गर्न जिल्लास्थित सबै स्थानीय तहलाई निर्देशन दिएको डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराबम अर्यालले जानकारी दिनुभयो ।