फोहोरको सदुपयोग गरेर मोहोर कमाउँदै उद्यमी

स्याङ्जा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरूलाई फोहोरका रूपमा डष्टविनमा फाल्छौं होला । त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदूषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरू राम्रो आम्दानी गरिरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर महिलाहरू फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन् । स्थानीय तीन जना महिलाहरूले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याउनुभएको हो । 

जिल्लामा कुखुरा पालन गर्ने फर्महरू बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताउनुभयो । उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिरहेको र  कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वागलुङ, लमजुङसम्म बिक्री हुने गरेको छ । 

ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत् आपूर्तिको व्यवस्था समेत आफैँले गर्नुपरेको उहाँले बताउनुभयो ।

कागज, किताव, कापी, पत्रिका, कार्टुनलगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेसिनमा राखेपछि मेसिनले क्यारेट तयार पार्दछ र करिब पाँच घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरू घरघरमै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य बस्तुहरू फाल्न फोहोरको ट्याक्टर कुर्नेहरू अहिले त्यही कागज बिक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरू बताउँछन् ।

कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरूले कोरोनाकालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन ।