काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको २४० दिने निक्षेपमा लगानी गरिने राष्ट बैंकले जनाएको छ ।
‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ८ करोड ९० लाख रुपैयाँ गरी कूल १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको हो । उक्त रकम आगामी कात्तिक २ गतेदेखि २०७८ जेठ ३१ गतेसम्म २४० दिनका लागि मुद्दती निक्षेप रहनेछ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी आइतबार ४ बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्नेछ । राष्ट्र बैंकको निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र न्यूनतम पुँजीकोष कायम हुनुपर्नेछ । त्यस्तै निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद् तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजीअनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र हुनुपर्ने, निकटतम अघिल्लो वर्षमा मुनाफामा रहेको र रियलस्टेट कर्जा सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधान छ ।
त्यस्तै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकले राष्ट्र बैंकबाट कारबाही भोगेको भएपनि ६ महिना पूरा भएको, संस्थाशीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेछ ।




















