हाल संसारका अधिकांश देशहरूमा नेपालीहरू छरिएर रहेका छन् । संबद्ध देशको नियम कानुनअनुसार त्यहाँको आवासीय भिसा लिनका लागि उनीहरूले नेपालको नागरिकता परित्याग गर्नुपर्ने हुन्छ । एक व्यक्ति एकै समयमा दुई देशको नागरिक बन्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार त्यस्ता देशमा आवासीय भिसा पाउनेहरूले नेपाली नागरिकता परित्याग गर्नु परेको हो । नेपाल छोडेको केही वर्षमात्र बिते पनि सिद्धान्ततः ती नेपाली नागरिक मानिँदैनन् । तर तिनले नेपाली बोल्न छोडेका हुँदैनन्, नेपाली संस्कार संस्कृतिको अवलम्बन गरिरहेकै हुन्छन्, देशको नियम, कानुनका आधारमा ती संबद्ध देशको नागरिक मानिन्छन् । नेपाल आउँदा पनि उनीहरूले नेपाल सरकारसँग भिसा लिनुपर्ने हुन्छ । विदेशी आवासीय भिसा लिएर बसेका नेपालीहरू नै हुन् एनआरएन अर्थात् गैरआवासीय नेपाली ।
नेपालीहरू अध्ययनका क्रममा, डिभी परेर वा कामको सिलसिलामा विदेशका विभिन्न भूमिमा गएर बसेका छन् । केही वर्षको बसाइपछि त्यहाँको नागरिकतासम्बन्धी कानुनी प्रावधान पूरा गरी सर्तहरू पालन गरेर त्यहाँका नागरिक बनेका भए पनि उनीहरूमा जन्मभूमिप्रतिको ममता र आस्था रहिरहनु स्वाभाविक हुन्छ । त्यहाँ जति नै उन्नति गरेको भए तापनि नेपालको ममता उनीहरूको अन्तरमनमा गहिरिएर रहिरहन्छ । विदेशमा रहेको बखत यस्तो ममता अझै गहिरिँदै जान्छ । संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायतलगायत युरोपियन मुलुकहरू तथा जापान, कोरिया, अष्टेलियालगायत देशमा यसरी छरिएर नेपालीहरू रहेका छन् ।
उनीहरूले त्यहाँ कमाएको सम्पत्ति नेपालमा लगानी गर्न चाहेका छन् । यसका लागि उनीहरूले सरकारसँग नेपालको आवासीय भिसाको माग गर्दै आएको निकै वर्ष भइसकेको छ । एकै पटक एउटा व्यक्ति दुई देशको नागरिक हुन नसक्ने विश्वव्यापी मान्यताका आधारमा हुनसक्छ सरकारले उनीहरूका लागि त्यस्तो व्यवस्था गर्न सकिरहेको छैन । उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, भवन भट्ट, देवमान हिराचनलगायतका व्यक्तिहरूले विदेशमा व्यवसाय गरी राम्रो कमाइ गरेर विश्वका केही सीमित धनी मानिसका रूपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । उनीहरू आफ्नो आर्जनको केही अंश नेपालको हाइड्रोपावर, पर्यटन, हवाई यातायात आदि क्षेत्रमा लगानी गर्न चाहन्छन् ।
यसका लागि सरकारसँगको समन्वय उनीहरू खोजिरहेका छन् । नेपालीहरूले विदेशमा परिश्रम गरेर कमाएको पैसा आफ्नै देशमा लगानी गर्न चाहँदा सरकारले उनीहरूका लागि सहज वातावरण सिर्जना गरिदिन सके विदेशमा रहेको रकम स्वदेशमा आउने थियो । सरकारले उनीहरूको लगानीका लागि सहज बाटो अवलम्बन गरी उनीहरूको लगानी सुरक्षाको प्रत्याभूति गरिदिन सक्नुपर्छ । गैरनेपाली आवासीय संघ (एनआरएनए) ले हालका दिनमा विदेशी भूमिमा रहेका नेपालीहरूले कोरोनाका कारण भोग्नुपरेका पीडाबारे उल्लेख गर्दै सरकारसँग उनीहरूको उद्दारका लागि आग्रह गरेको छ । संघको आठौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा प्रथम क्षेत्रीय विज्ञ सम्मेलनबाट नेपाल सरकारसँग यस्तो माग गरेको हो ।
उनीहरूले बुँदागत रूपमा गरेका विभिन्न मागमध्ये नेपालीहरूको उद्दार हालको सबैभन्दा महŒवपूर्ण रहेको छ । भिसाको म्याद सकिएर, बेरोजगार बनेर रहेकामध्ये हालसम्म नेपाल सरकारले ७५ हजार नेपालीको उद्दार गरी स्वदेश फर्काएको भए पनि अझै २ लाख २५ हजारभन्दा बढी उद्दारको पर्खाइमा छन् । तिनको यथाशक्य छिटै उद्दार होस् भन्ने चाहना उनीहरूको हो । कोरोनाबाट विदेशमै मृत्यु भएकाहरूमध्ये केहीको शवको व्यवस्थापन अझै हुन सकेको छैन । सरकारको ध्यान त्यतातर्फ पनि जानुपर्ने हुन्छ ।
संघले गैरआवासीय नेपालीहरूका छोराछोरीहरूलाई विदेशमा नेपाली भाषा, संस्कृति, संस्कार आदि सिकाउने उचित व्यवस्थाको माग गरेका छन् जुन अत्यन्त आवश्यक छ । यसो गर्न सकेको खण्डमा एकातिर तिनले नेपाली भाषा संस्कृति सिक्नेछन् भने अर्कातिर विदेशीहरूसम्म हाम्रो भाषा संस्कृतिको पहुँच विस्तार हुन सक्नेछ । नेपाल सरकारले यसतर्फ विचार पु¥याउनु जरुरी छ ।



















