भालेको डाँकसँगै मेरो उठाइ
उज्यालो भूइँमा खस्दैमात्र थियो
अनिदो आँखा
रातभरिको छट्पटाइ
आलस्यमय वदन
चर्किएको छाती
विक्षिप्त मन
एक तमासले स्वर मच्चाउँदै थिए
र भन्थे
अभाव र आवश्यकता भन्दा ठूलो प्रेम नहुँदो रहेछ !
सबेरै ममताको आँचल लुटिँदैथ्यो
लुकामारी खेल्ने न्यानो काँख छुटिँदैथ्यो
कठै !
ती अबोध मासुमलाई के थाहा ?
एउटा खेलौना हेलिकप्टरको आशमा
सुनौलो बचपन ममताको अभावमा चुटिँदैथ्यो ।
मेरो श्वास बीच बीचमा अड्किँदैथ्यो
मुटुको धड्कन बेस्सरी धड्किँदैथ्यो
मैले संसारले थिचेको भान गर्दै
एक चिम्टी विश्वास
अनि एक त्यान्द्रो आशा बोकेर पाइला अघि बढाई रेहेँ ।
अनायसै आँखा घडीतिर तन्किए
मेरा हातगोडा बेहिसाबले रन्किए
फेरि गहिरो श्वासमा सुस्केरा हाल्दै
गन्तव्यतिर विस्तारै लम्किएँ
आँखामा अविश्रान्त अश्रुधारा लिएर ।
समयले कस्तो खेल खेल्दैथ्यो ?
नियतिले यति क्रुर किन जेल्दैथ्यो ?
मनमा प्रश्नै पश्न बोकेर
उत्तर खोज्दै खोज्दै
कैयौं म जस्तै आमाहरूसँग म निस्किएँ
मरुभूमिको देश !
त्यसैले म भन्छु
म लाचार आमा हुँ ।।
पेप्सिकोला, काठमाडौं ।




















