लाचार आमा

भालेको डाँकसँगै मेरो उठाइ

उज्यालो भूइँमा खस्दैमात्र थियो 

अनिदो आँखा 

रातभरिको छट्पटाइ

आलस्यमय वदन 

चर्किएको छाती

विक्षिप्त मन 

एक तमासले स्वर मच्चाउँदै थिए 

र भन्थे 

अभाव र आवश्यकता भन्दा ठूलो प्रेम नहुँदो रहेछ !

सबेरै ममताको आँचल लुटिँदैथ्यो

लुकामारी खेल्ने न्यानो काँख छुटिँदैथ्यो

कठै !

ती अबोध मासुमलाई के थाहा ?

एउटा खेलौना हेलिकप्टरको आशमा

सुनौलो बचपन ममताको अभावमा चुटिँदैथ्यो ।

मेरो श्वास बीच बीचमा अड्किँदैथ्यो 

मुटुको धड्कन बेस्सरी धड्किँदैथ्यो

मैले संसारले थिचेको भान गर्दै

एक चिम्टी विश्वास 

अनि एक त्यान्द्रो आशा बोकेर पाइला अघि बढाई रेहेँ ।

अनायसै आँखा घडीतिर तन्किए

मेरा हातगोडा बेहिसाबले रन्किए

फेरि गहिरो श्वासमा सुस्केरा हाल्दै 

गन्तव्यतिर विस्तारै लम्किएँ

आँखामा अविश्रान्त अश्रुधारा लिएर ।

समयले कस्तो खेल खेल्दैथ्यो ?

नियतिले यति क्रुर किन जेल्दैथ्यो ?

मनमा प्रश्नै पश्न बोकेर 

उत्तर खोज्दै खोज्दै 

कैयौं म जस्तै आमाहरूसँग म निस्किएँ

मरुभूमिको देश !

त्यसैले म भन्छु 

म लाचार आमा हुँ ।। 

पेप्सिकोला, काठमाडौं ।