बाढीपीडितको उद्धारमा कांग्रेसनिकट जनसम्पर्क समिति मलेसियाले गर्यो रु.५० हजार सहयोग।

क्वालालम्पुर (मलेसिया):= नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसनिकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले नेपालमा बुधबार चीन–तिब्बततर्फबाट आएको भीषण बाढीबाट रसुवालगायत क्षेत्रमा प्रभावित तथा विपदमा परेका नागरिकहरूको सहयोगका लागि आर्थिक सहायता प्रदान गरेको छ।

समितिले रु. ५० हजार २७ रुपैयाँ नेपाली कांग्रेस केन्द्रिय समितिले सञ्चालन गरिरहेको विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गरेको हो। नेपालमा पछिल्लो समय आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिकको मृत्यु , घाइते र अझै पनि हजारौं मानिस प्रभावित भएपछि उनीहरूको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानअन्तर्गत समितिले उक्त रकम प्रदान गरेको जनाएको छ।

नेपाली कांग्रेसले विपद् व्यवस्थापन कोषमा संकलन हुने रकमलाई एकमुष्ट रूपमा हालको नेपाल सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। सोहीअनुसार नेपाली कांग्रेसले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरूलाई समेत विपद् मा परेका नेपाली नागरिकको सहयोगका लागि आर्थिक योगदान गर्न पत्राचार गरेको थियो। कांग्रेसको उक्त आह्वानपछि नेपाली जनसम्पर्क समिति मलेसियाले पार्टी कोषको खातामै रकम जम्मा गरी सहयोग गरेको हो।

नेपाली जनसम्पर्क समिति मलेसियाले आर्थिक सहयोगसँगै मलेसियामा रहेका नेपाली श्रमिक तथा समुदायका समस्यामा समेत लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। समितिले आफ्नो स्थापना कालदेखि नै मलेसियामा कुनै पनि प्रकारको विपद् वा आपत्कालीन अवस्था आइपर्दा नेपाली श्रमिकहरूको उद्धार, राहत तथा सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाउँदै आएको छ।

विशेषगरी मलेसियामा विभिन्न कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन समितिले विगतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हवाई टिकटको अभावमा मलेसियाका जेल तथा हिरासतमा लामो समयदेखि बस्न बाध्य भएका र टिकटको व्यवस्था हुन नसक्दा स्वदेश फर्कन नपाएका नेपाली नागरिकलाई हवाई टिकट उपलब्ध गराई घर पठाउने अभियानको सुरुवातसमेत नेपाली जनसम्पर्क समिति मलेसियाले गरेको थियो।

समितिका अनुसार प्रवासमा रहेका नेपाली नागरिकलाई अप्ठ्यारो पर्दा सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व हो। नेपालमा प्राकृतिक विपद् आइपरेका बेला पनि प्रवासमा रहेका नेपालीलाई एकजुट गराउँदै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने कार्यलाई समितिले निरन्तरता दिने जनाएको छ।

नेपालमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विदेशबाट प्राप्त सहयोगले विपद्मा परेका परिवारलाई तत्काल राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास समितिले लिएको छ।